-->
डिपोभरि चामल कर्णालीवासी भोकभोकै
Advertisement

भोकमरीले कर्णालीवासी चामल नपाएर भोकभोकै हुने अवस्थामा पुगेका छन, तर त्यो क्षेत्रमा पुगेका चामल भने खाद्य संस्थानको डिपोमा थन्किएर बसेको छ ।कर्णाली अञ्चलका मुगु, कालिकोट र हुम्लाका साथै अर्को छिमेकी जिल्ला बाजुराको जिल्ला विकास समितिले चामल वितरणबारे कार्ययोजना नबनाउँदा त्यस क्षेत्रका जनताका लागि छुट्ट्याइएको चामल खाद्य डिपोमै थन्किएको छ । चामल संस्थानको डिपोभरि भए पनि वितरण नभएपछि स्थानीय जनप्रतिनिधिहरूसमेत रुष्ट बनेका छन । जुम्लाका सांसद डिल्लीप्रसाद काफलेले सरकारको लापर्बाहीले भोकमरीमा रहेका जनताले चामल पाउन नसकेको बताए । ‘भोकमरी भएको बेला सरकारले भएको चामल वितरण गरे त सर्वसाधारणलाई समस्या हुँदैनथ्यो नि †’ उनले भने । बाजुराकी सांसद बसुन्धरा रोकायले खडेरीका कारण यहाँका केही गाविसमा खाद्य संकट देखिए पनि उनीहरूले चामल पाउन नसकेको बताइन् ।
नेपाल खाद्य संस्थानका प्रवक्ता पवनकुमार कार्कीले भोकमरीबाट प्रभावित जनताका लागि पठाएको ४ हजार क्विन्टल चामल सम्बन्धित जिल्ला विकास समितिहरूले वितरण कार्ययोजना नबनाउँदा वितरण गर्न नसकिएको बताए ।
‘खडेरी प्रभावित जिल्लामा खाद्यान्न पु¥याइसकेका छौं,’ उनले भने,
‘जिविसले कार्ययोजना नबनाउँदा डिपोको गोदाममा चामल राखिएको छ ।’ कार्कीले भने, ‘खडेरी प्रभावित सर्वसाधारणलाई पठाइएको चामल स्थानीय डिपोले गोठमा त्रिपालले छोपेर लामो समयसम्म राख्दा बिग्रन सक्छ ।’ खडेरीले भोकमरीको खतरा बढेपछि बंगलादेश सरकारले भूकम्प प्रभावितलाई पठाएको चामल ती जिल्ला पठाइएको थियो । सम्बन्धित जिविसको कार्ययोजनाका आधारमा मात्र संस्थानले खाद्यान्न वितरण गर्ने व्यवस्था गरिएको छ ।
जिल्लामा थोरै परिणाममा चामल राख्न मिल्ने डिपो रहेको र लामो समयसम्म राख्दा कुहिन सक्ने भएकाले संस्थानले बारम्बार सम्बन्धित जिविसलाई घच्घचाइरहेको संस्थानले जनाएको छ । संस्थानका अनुसार बाजुराको कोल्टी डिपोमा पठाइएको १ हजार ७ सय क्विन्टल चामल थन्किएको छ । त्यस्तै, मुगुको श्रीकोटमा ५ सय १३, सोरुकोटमा ५ सय ८५ र गमगढीमा १० हजार १० क्विन्टल चामल रहेको छ । कालीकोट जिल्लाको थिर्कुमा १ सय ८० क्विन्टल, पादमघाटमा ८६ र खल्लागाडमा ४ सय ४१ क्विन्टल चामल डिपोमा राखिएको छ ।
त्यस्तै, हवाईमार्गबाट पठाइएको हुम्लाको सिमीकोटमा पठाइएको २ सय ८१ क्विन्टल चामल डिपोमा थुप्रिएको छ । संस्थानका अनुसार रकम नहुने सर्वसाधारणले जिविसको सिफारिसमा श्रमदानमार्फत खाद्य संस्थानले चामल उपलव्ध गराउने गर्छ ।
सरकारले खडेरीले प्रभावित कर्णाली अञ्चलका कालीकोट, मुगु, हुम्ला र जुम्लासहित बाजुरमा ३४ हजार क्विन्टल चामल पठाउन निर्र्देशन दिइएको थियो । ४ हजार क्विन्टल चामल विभिन्न जिल्लामा पु¥याइसकेको र बाँकी चामल ढुवानीको क्रममा रहेको संस्थानले जानकारी दिएको छ ।
२०७२ जेठमा बंगलादेश सरकारले भूकम्प प्रभावित जिल्लाका सर्वसाधारणलाई राहतका लागि बंगलादेश सरकारले १ लाख क्विन्टल चामल वितरण गरेको थियो । लामो समयसम्म संस्थानको गोदाममा राखिएको चामल भूकम्प प्रभावित जिल्लामा पठाइएको थियो । संस्थानले खडेरी प्रभाविगत जिल्लामा चामल पु¥याइदिए पनि जिविसले समयममा कार्ययोजना नबनाउँदा जिल्लाको डिपोमा राखिएको छ । संस्थानका अनुसार जिल्लामा चामल राख्न सुरक्षति डिपो अभावमा त्रिपालले छोपेर राखिएको छ ।
यो वर्ष कर्णालीको तीन जिल्लामा ४० वर्षयताकै सबैभन्दा ठूलो खडेरी परेकाले खाद्यान्न उत्पादनमा कमी भएको थियो । सो खडेरीका कारण तीन जिल्लाका ४१ भन्दा बढी गाविस अहिले खाद्य असुरक्षामा परेका छन् । खडेरीका कारण उत्पन्न खाद्य संकट र खाद्यान्न अभावपछि कर्णालीका करिब ४ सयभन्दा बढी स्थानीय बासिन्दा रोजगारीका लागि भारतको विभिन्न सीमाक्षेत्रमा पसेका छन् । कृषि विज्ञ डा. कृष्णप्रसाद पौडेलले खडेरीले खाद्यान्न उत्पादन नहुँदा मुगु, हुम्ला र बाजुरामा चरम खाद्य संकट भएको बताए । ४० वर्षयताकै ठूलो खडेरी परेकाले तीन जिल्लामा खाद्य संकट देखिएको उनले जानकारी दिए ।
वातावरणीय कृषि तथा विकास केन्द्र (केड)का अनुसार २०३२ सालपछि यो वर्ष कर्णालीमा ठूलो खडेरी परेको हो । केडका प्रमुख प्रमोद दाहालले गत साउनको २५ गतेदेखि माघ ५ गतेसम्म (करिब पाँच महिना) नियमित रूपमा हुने अकासे पानी र हिमपात नपर्दा ठूलो खडेरी परेको बताए ।
खडेरीका कारण बर्खे बाली डढेर सखाप हुनुका साथै हिउँदे बालीको खेती पनि सिँचाइको अभावमा अत्यन्त नाजुक अवस्थामा पुगेका छन् । कर्णालीको शुष्क र अर्ध शुष्क कृषि क्षेत्र भएकाले सिँचाइको अभावमा स्थानीय बालीनाली प्रभावित हुँदै आएको छ ।
केन्द्रका अनुसार भीषण खडेरीका कारण मुगु, बाजुरा र हुम्लालगायतका जिल्लाहरू प्रभावित भएका छन् । खडेरीका कारण मुगुको नाथर्प‘, जिमा, कालै, धैनकोट, ह्याङ्लु, सुकाढिक, कोटडाँडा, माग्री, पुलु, किम्री र डोल्फु गाविस ठूलो खाद्य संकटग्रस्त सूचीमा दरिएका छन् । यसैगरी मुगुकै श्रीनगर, कार्कीवाडा, रोवा, रुगा, पिना, रारा, फोतु, सेरी, श्रीकोट, खमाले, गम्था र मुगु गाविस खाद्य संकट देखिएको छ ।
कहा“ कति थन्किए ?
जिल्ला चामल (क्विन्टलमा)
बाजुरा १,७००
मुगु १,९७०
कालिकोट ७०७
हुम्ला २०७
स्रोत ः नेपाल खाद्य संस्थान


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.