Advertisement
|
‘एकजना व्यापारीले सेयर किन्न दुई करोड रुपैयाँ ल्याएर छाडिदिएको छ, अफिसमा पैसा राखेको छु,’ केही दिनअघि सेयर ब्रोकरको अनौपचारिक जमघटमा एक ब्रोकरले भने, ‘पछि केही असजिलो पर्ने पो हो कि ? त्यसकै तनावमा छु ।’ त्यस्तो कारोबार गर्दा आफू बचेर गर्नु भन्ने सुझाब आफूले दिएको अर्का ब्रोकरले नयाँ पत्रिकासँग बताए । लगानीकर्ताले ठूलो परिमाणमा नगद ल्याएर ब्रोकरलाई जिम्मा दिने गरेको यो पहिलो घटना भने होइन ।
ठूला व्यापारिक घराना, विदेशमा लगानी गर्दै आएका नेपाली, सेयर बजारका स्थापित खेलाडी र सरकारी कर्मचारीले यसरी ठूलो परिमाणमा सेयर खरिदमा रकम परिचालन गर्ने गरेका छन् । उनीहरूले आफ्ना विश्वासका ब्रोकरलाई नगद भुक्तानी गर्ने गरेको सरोकारवाला बताउँछन् । ब्रोकरहरूका अनुसार त्यसरी आउने अधिकांश रकमको स्रोत खुल्दैन ।
नगदमा हुने भुक्तानीको ठूलो हिस्सा करछली वा भ्रष्टाचारबाट आर्जित रकम हुन सक्छ । ‘यही बाटोबाट सम्पत्ति शुद्धीकरण गर्न सेयर बजारको प्रयोग गर्ने प्रवृत्ति अहिले बढेको छ,’ अर्का एक ब्रोकर भन्छन्, ‘पछिल्ला महिना सेयर बजार बढाउन यस्तो पैसाले पनि भूमिका खेलेको छ ।’
यसरी हुन्छ शुद्धीकरण
अवैध व्यापार, करछली, भ्रष्टाचार र बिचौलियाका कामदेखि अन्य गैरकानुनी कार्यबाट कमाएको अनधिकृत सम्पत्ति आर्जन गर्ने व्यक्तिले आफ्ना विश्वासका सेयर ब्रोकरलाई नगद ल्याएर दिन्छन् । ब्रोकरले त्यो रकमबाट १० लाख रुपैयाँको सीमा ननाघ्ने गरी सेयर किन्दै जान्छन् । किनभने, १० लाखभन्दा बढी रकमको कारोबार गर्दा स्रोत खुलाउनुपर्छ । त्यस्तो कारोबारको जानकारी राष्ट्र बैंकअन्तर्गतको वित्तीय सूचना इकाइलाई दिनुपर्छ । त्यसो हुँदा ब्रोकरले एक करोड रुपैयाँको सेयर किन्न हप्तौँ लगाउँछन् ।
ब्रोकरले प्राप्त नगद आफ्नो कम्पनीको खातामा जम्मा गर्छन् र अर्को ब्रोकरलाई चेकमै भुक्तानी दिन्छन् । जब त्यसरी किनिएको सेयर बेचिन्छ, नगद ब्रोकरलाई दिने लगानीकर्ताले एसी पेई (खातामा भुक्तानी हुने) चेक पाउँछ । त्यो चेक लगानीकर्ताको बैंक खातामा जम्मा गर्दा सम्पत्तिको स्रोत देखिने मात्रै होइन, कर तिरेर ‘सेतो धन’ भइसक्छ । सुरुमा सेयर किन्दा पैसा कहाँबाट आयो भनेर राज्यले खोजी गर्न नसक्दा यसरी कालो धन सेतो भइरहेको विज्ञहरूले बताएका छन् ।
पहिल्यैदेखि हुन्थ्यो
यसरी सेयर बजारमार्फत सम्पत्ति शुद्धीकरण गर्ने क्रम गणतन्त्र स्थापनापछि बढ्न थालेको थियो । ‘त्यतिवेला पनि घरजग्गा र सेयरमा ठूलो पैसा आएको थियो,’ ब्रोकरहरूले भने, ‘अहिले पनि त्यही प्रवृत्ति दोहोरिएको देखिन्छ ।’ उनीहरूका अनुसार यसरी बजारमा भित्रिने पैसाको आकार पहिलो ‘लाख’मा थियो, अहिले ‘करोड’मा पुगेको छ ।
भारतीय लगानी पनि
केही ब्रोकरका अनुसार अहिले भारतीय व्यवसायीले पनि नेपाली सेयर बजारमा लगानी बढाएका छन् । भारतमा सम्पत्तिको स्रोतमा बढी कडाइ हुन थालेपछि उनीहरूले नेपाली बजारमा लगानी गर्न थालेको ब्रोकरहरूको भनाइ छ । ‘भारतीयले नेपालका खासगरी मारवाडी समुदायलाई विश्वासमा लिएर उनीहरूमार्फत नै सेयर बजारमा लगानी गरिरहेका छन्,’ एक ब्रोकरले भने ।
ट्याक्स हेभनबाट फर्कियो पैसा ?
केही ब्रोकरका अनुसार ट्याक्स हेभन राष्ट्रमा राखिएका अनधिकृत सम्पत्ति पनि फिर्ता आउन थालेको छ । ‘पानामा पेपर्सजस्ता काण्डले ट्याक्स हेभन राष्ट्रमा पनि आफ्नो सम्पत्ति सुरक्षित नभएको देखाएपछि कतिपय नेपालीले त्यहाँबाट पैसा फिर्ता ल्याउन थालेको पाइएको छ,’ ती ब्रोकरले भने । पानामा पेपर्सले नाम सार्वजनिक गरेकामध्ये बिनु श्रेष्ठ, शशीकान्त अग्रवाललगायत केही व्यक्ति नेपाली सेयर बजारका ठूला लगानीकर्ता मानिन्छन् ।
ब्रोकरलाई फाइदैफाइदा
यसरी गैरकानुनी सम्पत्ति शुद्धीकरण सहयोग गरेबापत सेयर ब्रोकरले पनि मोटो रकम पाउँछन् । ‘५० प्रतिशतसम्म ब्रोकरलाई कमिसन दिन्छन्,’ ती ब्रोकरले भने, ‘२ करोड अवैध पैसामा १ करोड वैध हुनु लगानीकर्ताका लागि खुसीको कुरो हुन्छ ।’ तर, यस्तो कारोबार केही सीमित ब्रोकरले मात्रै बढी मात्रामा गरिरहेको उनीहरूको दाबी छ । ‘चार–पाँचजना ब्रोकरले बढी मात्रामा यस्तो कारोबार गर्छन्,’ एक ब्रोकरले भने ।
जानकार छ नियामक
नेपाल धितोपत्र बोर्डले केही महिनाअघि आयोजना गरेको एक अन्तक्र्रियामा अर्थ मन्त्रालयका अधिकारीले भनेका थिए, ‘सेयर बजारमा सम्पत्ति शुद्धीकरणको विषय निकै चर्को रूपमा आउन थालेको छ ।’ उनले सबै सरोकारवालालाई त्यसबारे ‘हेक्का’ राख्न सुझाए । अर्थसचिव संयोजक रहने सम्पत्ति शुद्धीकरण समन्वय समितिको हालै सम्पन्न रणनीतिक तयारीबारेको गोष्ठीमा पनि सेयर बजारमार्फत सम्पत्ति शुद्धीकरण भएको विषय चर्को रूपमा उठेको सहभागीले बताएका छन् । ‘यसबारे चर्चा भएको थियो,’ गोष्ठीमा सहभागी नेपाल धितोपत्र बोर्डका प्रवक्ता नीरज गिरीले भने, ‘यसलाई नियन्त्रण गर्न नेप्से, धितोपत्र बोर्डले पनि भूमिका निर्वाह गर्नुपर्ने छलफल भएको छ ।’ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भने सेयर बजारलाई सम्पत्ति शुद्धीकरणको सम्भाव्य क्षेत्र मानेर अध्ययन गर्ने तयारी भएको बताए ।
उजुरी नपर्दा अनुसन्धानमा ढिलाइ
ज्ञानेन्द्र पौडेल
प्रवक्ता एवं उपमहानिर्देशक, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग
सेयर बजार सम्पत्ति शुद्धीकरणको सम्भाव्य क्षेत्र हो । त्यसबारे कुरा उठेको छ । तर, अहिलेसम्म कुनै उजुरी परेको छैन । मिडियामा पनि यो कुरा आएको छैन । त्यस्तो अवस्थामा अति सक्रिय (प्रोएक्टिभ) भएर अघि बढ्न हामीलाई कानुनले पनि दिँदैन । त्यसले गर्दा बढी सक्रिय हुन सकिएको छैन । तथापि, हामीले सेयर बजारलाई अध्ययन क्षेत्रभित्र राख्ने तयारी थालेका छौँ

0 comments
प्रतिक्रिया दिनुहोस्...