नेपालको दोहोरो भीडन्तमा बाँचेका चन्द्रबहादुर काबुल विस्फोटमा मारिए
Advertisement
|
२०६० सालमा सिन्धुपाल्चोकमा भएको दोहोरो भीडन्तमा आँखै अगाडी ८ जना साथीहरु ढलेपछि प्रहरी हवल्दार चन्द्रबहादुर रानामगरले जागिर छाडे । दुई परिवार (दोस्रो विवाह) को लालपालनको जिम्मा काँधमा रहेका उनलाई वैदेशिक रोजगारी नै उपयुक्त लाग्यो र विदेश हानिए ।
नेपालको दोहोरो भीडन्तमा ज्यान जोगाएका काभ्रे, ठूलोपर्सेल–७, छापका चन्द्रबहादुर रानामगर अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम विस्फोटमा परेर मारिए ।
नेपालको दोहोरो भीडन्तमा ज्यान जोगाएका काभ्रे, ठूलोपर्सेल–७, छापका चन्द्रबहादुर रानामगर अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम विस्फोटमा परेर मारिए ।
प्रहरीको जागिर छाडेपछि उनले सुरक्षा गार्डको रुपमा काम गरे । राम्रो आम्दानी नदेखेपछि सुरक्षा गार्डकै लागि अफगानिस्तान गए र कमाइ गरेर फर्के । १ महिनाको बिदामा आएर जेठ १६ गते मात्रै फर्किएका उनी अब कहिल्यै नफर्किन गरी बिदा भएका छन् ।
‘कामको बीचमा २–३ पटक आउनुभयो । ३ हप्ताअघि मात्रै फर्कनुभएको थियो,’ चन्द्रबहादुरका भाइ गंगाले भने, ‘डेढ वर्षजति बसेर कहिल्यै नजाने गरी फर्कन्छु भन्नुभएको थियो, नफर्किने नै गरी जानुभयो ।’
गंगाका अनुसार, ऋण गरेर विशालनगरमा एकतले घर किनेका चन्द्रबहादुरलाई घर किन्दाको ३० लाख जति ऋण थियो । ‘घर किन्दाको ऋण तिरेर पुरै आफ्नो बनाउँछु र कहिल्यै विदेश जान्न भन्नुभएको थियो,’ भावुक हुँदै गंगाले भने, ‘डेढ–दुई वर्षजति दु:ख गर्छु भनेर जानुभएको थियो ।’
४४ वर्षीय चन्द्रबहादुरका दुई परिवारतर्फ गरेर ५ बालबच्चा छन् । जेठी श्रीमती चन्द्रमायातर्फकी जेठी छोरी अस्मिताको बिहे भइसक्यो, छोरा देवराज कक्षा ११ मा गाउँमा नै पढ्छन् । कान्छी गंगामायातर्फ १५ वर्षकी छोरी आस्था ११ कक्षा, १३ वर्षकी छोरी आशमाया १० कक्षा र ८ वर्षका छोरा अनुराग २ कक्षामा पढ्छन् ।
अफगानिस्ताको घनामा क्यानडा कम्पनीका कामदार परेको सुन्नेबित्तिकै उनीहरुले आफ्नो मान्छे परेको आशंका गरेका थिए । ‘दाइको साथीले मामा (चन्द्रबहादुर) चढेको गाडी विस्फोटमा परेको भन्ने सुनायो,’ भाइ गंगाले भने, ‘पछि पहिचान खुल्दा त दाइको नाम एक नम्बरमा रहेछ ।’
घटनाबारे थाहा पाएपछि मगर परिवार शोकमा छ । श्रीमती गंगामाया अर्धचेत छिन् । उनीहरुलाई बालबालिकाको लालनपालन र ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताउन थालिसकेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...