Advertisement
|
तपाईले मोबाइलमा राख्न सिम कार्ड किन्नुभएको या बैंकको एटीएम चलाउनुभएको होला । त्यस्तै आकार प्रकारको तर तपाईंको सम्पूर्ण नालिबेली अट्ने गरी सरकारले राष्ट्रिय परिचय पत्र बनाउँदैछ । यस कार्डको अघिल्लो भागको माथि निशान छाप र नेपालको राष्ट्रिय झण्डा हुन्छ ।
त्यसपछि परिचयपत्र नम्बर, व्यक्तिको नाम थर, आमाको नाम, त्यसपछि मात्र बाबुको नाम उल्लेख हुनेछ । ग्राहकको फोटो सहित पृष्ठभूमिमा हिमालको चित्र छ । व्यक्तिगत योग्यता, पारिवारिक विवरण, सम्पत्ति, जमिनको लालपूर्जा, राम्रा नराम्रा काममा संलग्नता जस्ता धेरै विषयलाई समेट्ने गरी चिप्स पनि रहने छ । सिमकार्ड अथवा बैंक तथा वित्तीय संस्थाले प्रयोगमा ल्याएका एटिएम कार्ड जस्तै इलेक्ट्रोनिक्स चिप्समा तथ्य र सूचनाहरु समावेश गरेर मेसिनले पढ्न सक्ने स्मार्ट कार्डका रुपमा राष्ट्रिय परिचयपत्र छापिदैछ ।
कार्डको पछिल्लो भागमा नेपालको नक्सा सहित कार्ड नम्वर, ठेगाना, लिंग, जन्ममिति, ग्राहकको हस्ताक्षर, जारी गर्नेको हस्ताक्षर हुनेछ । यस्तो कार्ड स्विस कन्सल्ट्याटको सहयोगमा तयार पारिएको छ ।
यसलाई नागरिकता, मतदाता परिचयपत्र, सवारीचालक अनुमतिपत्र, पासपोर्ट, लालपूर्जा, सामाजिक सुरक्षा कार्ड जस्ता विभिन्न विषयमा उपयोग हुन सक्ने बनाउने सरकारको योजना छ । यो स्मार्ट कार्डमा १० वटा औंलाको छाप, फोटो र विवरण हुनेछ ।
नेपाली नागरिकताको प्रमाणपत्रमा उल्लेख हुने नाम, ठेगाना, दायाँ/बायाँ दुई औँठा छापले मात्र सबै परिचय नझल्कने भनेर नागरिकता बोक्नु नपर्ने गरी सरकारले राष्ट्रिय परिचय पत्र वितरणका लागि काम अगाडि बढाएको हो । यसका लागि गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रले फ्रान्सेली कम्पनी मर्फोलाई ठेक्का दिएको छ ।
पुरानो नागरिकता पाएका र फोटो सहितको मतदाता विवरणमा नाम भएका १ लाख १७ हजार नागरिकले पहिलो चरणमा यस्तो परिचय पत्र पाउने छन् । यस्तो स्मार्ट कार्डले देशभित्र मात्र नभई विदेशमा पनि काम गर्नेछ ।
के हो राष्ट्रिय परिचय पत्र ?
राष्ट्रिय परिचयपत्र भनेको नागरिकको राष्ट्रिय पहिचान सहितको कानुनी दस्तावेज हो । ‘
अहिलेको नागरिकताको आधारमा राष्ट्रिय परिचय पत्र जारी हुन्छ’ केन्द्रका कार्यकारी निर्देशक दिनेश भट्टराईले भन्नुभयो ‘यो बहुउपयोगी भएकाले भविष्यमा नागरिकताको काम के हुन्छ अथवा नागरिकता रहन्छ या रहँदैन भन्न सकिंदैन ।’नागरिकका वैयक्तिक तथा जैविक विवरण स्मार्ट कार्डमा संग्रह गरिन्छ । जैविक पहिचान भन्नाले व्यक्तिको फोटो र औंलाको छाप भन्ने बुझिन्छ भने वैयक्तिक पहिचान अन्तर्गत व्यक्तिको नाम, थर, ठेगाना, उमेर, लिंग तथा त्यस्तै अन्य व्यक्तिगत विवरण पर्दछन् ।
हरेक १६ बर्ष उमेर पुगेका नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन २०६७ श्रावण १ गते राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रको स्थापना भएको हो ।
राष्ट्रिय परिचय पत्र अर्थात् स्मार्ट कार्ड किन ?
व्यक्तिको राष्ट्रिय पहिचानको रूपमा रहने स्मार्ट कार्डमा नागरिकका जैविक तथा व्यक्तिगत विवरण तत्काल प्राप्त हुन्छ । त्यतिमात्र होइन यसले मतदाता परिचयपत्र, जग्गा जमिनको अभिलेख, बैंकिङ कारोवार, सामाजिक सुरक्षा कार्ड, सुरक्षा व्यवस्थापनको लागि सहयोगी अभिलेखका रूपमा समेत काम गर्छ ।
राष्ट्रिय परिचय पत्रको पृष्ठ भागमा राखिएको तथ्यांक सुरक्षित राख्ने विद्युतीय साधन चिप्स हो । चिप्समा ठूलो परिमाणमा तथ्यांकलाई संग्रह गरेर राख्न मिल्छ । आवश्यक परेको अवस्थामा सम्बन्धित व्यक्तिले आफ्नो विवरण उपयोग गर्न सक्छ भने विभिन्न निकायले कानुनद्वारा तोकिए बमोजिम मात्र प्रयोग गर्न सक्ने गरी गोपनियता सुनिश्चित गरिएको हुन्छ ।
यसमा नागरिकतामा जस्तै हरेक व्यक्तिको पहिचानलाई सजिलोसँग प्रस्तुत गर्न सांकेतिक नम्बर हुन्छ । तर १, २, ३ जस्तो सिरियल नम्बर नभएर फरक हुन्छ तर कस्तो नम्वर आउँछ भन्ने व्यक्ति बाहेक अरुलाई थाहा हुँदैन । हरेक ब्यक्तिलाई फरक फरक रूपमा उपलब्ध गराइएको सांकेतिक अंक राष्ट्रिय परिचयपत्रमा राखिएको हुन्छ, जसलाई राष्ट्रिय परिचयपत्र नम्बर पनि भनिन्छ ।
राष्ट्रिय परिचयपत्र कहाँबाट वितरण गरिन्छ ?
केन्द्रमा रहेको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रबाट परिचयपत्र तयार गरी हरेक जिल्लामा जिल्ला प्रशासन कार्यालयबाट वितरण गरिन्छ । राष्ट्रिय परिचयपत्रका लागि आवश्यक पर्ने विवरण संकलन गरी केन्द्रमा पठाउने र केन्द्रद्वारा निर्मित परिचयपत्र वितरण गर्ने काम जिल्ला प्रशासन कार्यालयले गर्छ ।
गाविस र नगरपालिका जस्ता स्थानीय निकायले परिचयपत्रका लागि सिफारिश गर्ने तथा व्यक्तिगत घटना विवरण जन्म, मृत्यु, विवाह आदि दर्ता गरी विवरण जिल्ला प्रशासन कार्यालयमा पठाउने गर्दछन् । अन्य विभिन्न निकायले समेत यस कार्यमा सहयोग गर्न सक्दछन् ।
हरायो भने कसरी प्रतिलिपि लिने ?
राष्ट्रिय परिचयपत्र हराएमा, नासिएमा वा झुत्रो भई काम नलाग्ने भएमा कारण सहित तोकिए बमोजिम स्थानीय निकायबाट सिफारिस गराई सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत केन्द्र समक्ष निवेदन दिएमा अभिलेख रूजु गरी प्रतिलिपीको रूपमा राष्ट्रिय परिचयपत्र पाइन्छ ।
किन चाहियो राष्ट्रिय परिचयपत्र ?
व्यक्तिको शैक्षिक योग्यता, आर्थिक उपलब्धी, जग्गा जमिनको विवरण जस्ता कुरा अहिलको नागरिकतामा उल्लेख छैन । नागरिकताको प्रमाणपत्रले व्यक्तिगत पुरै विवरण दिन नसक्ने भएकाले अरु थप विवरण पनि समेट्न नागरिकताको प्रमाणपत्रका आधारमा राष्ट्रिय परिचयपत्र दिने व्यवस्था गरिएको हो ।
कार्डमा कसरी राखिन्छ व्यक्तिगत विवरण ?
अन्य व्यक्तिगत विवरण राख्नका लागि राष्ट्रिय परिचयपत्रको पृष्ठ भागमा तथ्याँक सुरक्षित राख्ने विद्युतीय साधन अर्थात चिप्स राखिन्छ । चिप्समा तथ्याङ्क संग्रह हुन्छ । जसरी मेमोरी कार्डमा सामग्री भण्डार गरिन्छ । त्यसैगरी चिप्समा आवश्यक पर्ने विवरण राख्ने गरिन्छ ।
यसरी राखिएका तथ्याङ्क केन्द्रको भण्डारण क्षमतामा अध्यावधिक सहित सबै विवरण राखिन्छ । यसरी राखिएको व्यक्तिको विवरण विभिन्न प्रशासनिक ठाउँमा रहेका मेसिनको सहायताले मात्र हेर्न सकिन्छ ।
काम के हुँदैछ ?
सरकारले परीक्षणको रुपमा कम्तीमा एउटा निर्वाचन क्षेत्रमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने घोषणा गरे अनुसार केन्द्रले तयारी तिव्र पारेको छ । त्यसका लागि एसियाली विकास बैङ्कको झण्डै ८० लाख डलर आर्थिक अनुदान केन्द्रलाई प्राप्त भएको छ ।
५ बर्षभित्र सबैलाई स्मार्टकार्ड वितरण गर्ने उदेश्य अनुसार पहिलो चरणमा १ लाख १७ हजार, दोस्रो चरणमा १५ जिल्ला, तेस्रो चरणमा २५ जिल्ला र चौथो चरणमा ७५ वटै जिल्लामा स्मार्टकार्डको वितरण गर्ने केन्द्रले जनाएको छ । केन्द्रका कार्यकारी निर्देशक दिनेश भट्टराईले सबैभन्दा न्युन दररेट पेश गरेको आधारमा फ्रान्सको मर्फो कम्पनी चयन गरी सार्वजनिक सूचना जारी भएको जानकारी दिनुभयो ।
ठेक्का हालेका ६ कम्पनीमध्ये सबभन्दा न्युन दररेट हालेको भन्दै ४८ करोड रुपैंया बराबरको ठेक्काका लागि फ्रान्सको मर्फो कम्पनी चयन भएको हो । जेठ ३० गते जारी सूचना अनुसार ७ दिनभित्र कुनै उजुरी नपरे चयन भएको कम्पनीलाई परिचयपत्रको जिम्मेवारीका लागि आवश्यक सम्झौता हुने केन्द्रका कार्यकारी निर्देशक भट्टराईले बताउनुभयो ।
यसअघि स्मार्टकार्डको ठेक्का दिने विषयमा आर्थिक चलखेल भएको भन्दै गृह र लेखा समितिमा उजुरी परेपछि ठेक्का दिने प्रकृया नै रोकिएको थियो । सरकारले सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र प्रदान गर्न आर्थिक वर्ष ०६६/६७ को वार्षिक नीति तथा कार्यक्रममा स्मार्ट कार्ड उपलब्ध गराउने घोषणा गरेको थियो ।

0 comments
प्रतिक्रिया दिनुहोस्...