Advertisement
|
काठमाडौं, ६ साउन । महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख बन्न नेपाल प्रहरीका केही एसएसपीहरु शक्ति केन्द्र धाउन थालेका छन् ।
एसएसपी सर्वेन्द्र खनाल महाशाखाको प्रमुख बनेको एक वर्ष पुगेको छ । प्रहरी प्रहरी प्रधान कार्यालयले महाशाखामा कसलाई पठाउने भन्ने बारेमा अहिलेसम्म कुनै गृहकार्य नगरेपनि केही एसएसपीहरु भने शक्ति केन्द्रमार्फत दबाब दिन लगाई प्रमुख बन्न खोजिरहेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
त्यस्तै, परिसरमा एसएसपी विक्रमसिंह थापा प्रमुख बनेर आएको एक वर्ष पनि पुगेको छैन । तर, एसएसपीहरु अहिलेदेखि नै लविङमा जुटिसकेका छन् ।
अपराध महाशाखामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफ्ना नाता पर्ने एसएसपी मनोज न्यौपानेलाई पठाउन आइजीपी उपेन्द्रकान्त अर्याललाई दबाब दिन थालेको स्रोतको भनाई छ । न्यौपाने हाल सिआईवीमा कार्यरत छन् ।
त्यसैगरी महाशाखामा आउन डन र तस्करसँग हिमचिम भएका एसएसपी दिनेश अमात्य, मिटर व्याजका बादशाह वीरेन्द्रलाल श्रेष्ठसँग जोडिदै आएका अर्का एसएसपी राजेन्द्रमान श्रेष्ठ र धिरु बस्नेतलगायतले पनि चलखेल गरेका छन् ।
महाशाखामा जान नपाएको खण्डमा उनीहरुले परिसरको प्रमुख ताकेको चर्चा छ ।
महाशाखामा एसएसपी सर्वेन्द्र खनालले जस्तै काम गर्न सक्ने क्षमताका कुनै अधिकृत नभएकाले तत्काल उनको सरुवा हुने कुनै संभावना नरहेको हेडक्वाटर स्रोत बताउँछ ।
एसएसपी खनालले अपराध र अपराधी विरुद्ध शुरु गरेको अभियानलाई निरन्तरता दिन सक्ने एसएसपी भने अहिलेसम्म भेटिएका छैनन् ।
सोही कारण आइजीपी अर्याल तत्काल महाशाखा र प्ररिसरका प्रमुख परिवर्तन नगर्ने सोचमा रहेपनि अख्तियार प्रमुख कार्कीले भने कमाण्ड गर्न नसक्ने एसएसपी न्यौपानेलाई पठाउन दबाब दिन थालेको स्रोतको दावी छ ।
त्यसैगरी एसएसपीहरु केदार रिजाल, पुष्पचन्द्र रञ्जित र बलराम शर्मा पौडेलले पनि पाए महाशाखा नपाए परिसर ताकेर बसेका छन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...