Advertisement
|
साउन ३ – लियोनल मेस्सी राष्ट्रिय टिमबाट कुनै पनि मुख्य उपाधि जित्न नसकेपनि विश्वको उत्कृष्ट फुटबलर रहेको बार्सिलोनाका पूर्व खेलाडी रोनाल्डिन्होले बताएका छन् ।
बार्सिलोनामा मेस्सीसँग खेलेका रोनाल्डिन्होले मेस्सीले अन्तर्राष्ट्रिय फुटबल छोडेपनि त्यसले उनी उत्कृष्ट खेलाडी हुन् भन्ने कुरामा कुनै फरक नपर्ने र उनी विश्वको उत्कृष्ट खेलाडी रहेकोमा दुविधा नरहेको बताए ।
मेस्सीले गएको महिना अमेरिकामा भएको कोपा अमेरिका फुटबलको फाइनलमा चिलीसँग टाइब्रेकरमा अर्जेन्टिना पराजित भएपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । पाँच पटकका फिफा बोलोन डी’ओर विजेता मेस्सीले कुनै पनि अन्तर्राष्ट्रिय उपाधि नजिति सन्यासको घोषणा गरेका हुन् । तर मेस्सीजस्तै उत्कृष्ट खेलाडीका रुपमा हेरिने पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले भने गएको हप्ता फ्रान्समा सकिएको युरोकपमा उपाधि दिलाउन सफल भए । रोनाल्डिन्होले भने ‘मेस्सी अहिले पनि विश्वका उत्कृष्ट खेलाडी हुन् । उनीप्रतिको मेरो सम्मान कहिले परिवर्तन हुँदैन । यदी उनी साँच्चीकै राष्ट्रिय टिममा फर्किएनन् भने उनको अभाव खड्किने छ ।’ रोनाल्डिन्होले सन् २००३ देखि २००८ सम्म बार्सिलोनाबाट खेलेका थिए ।

0 comments
प्रतिक्रिया दिनुहोस्...