-->
अन्तर्राष्ट्रिय ह्याकर नेपालमा सक्रिय
Advertisement

काठमाडौंमा एटिएम ठगीमा बुल्गेरियन, टर्किस, भारतीय, बंगलादेशी, पाकिस्तानी नागरिक पक्राउ परिसकेका छन् । उनीहरूले भने विदेशी नागरिककै पैसा चोरी गरेका थिए । यसबाहेक बैंक कर्मचारीकै मिलेमतोमा नेपालमा एटिएममार्फत ठगी भएको छ ।
विराटगनरका कोषराज भट्टराई र दोलखाका लीलाबहादुर बाँणा एक सातायता जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । नक्कली एटिएम बनाई ठगी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ परेका भट्टराई र बाँणाले आफूहरूले अरूको कार्डबाट पैसा निकालेको स्वीकार गरेका छन् । तर, कसरी उनीहरूले बैंकको डाटा ह्याक गरेर नक्कली एटिएम बनाई पैसा निकाले भन्ने प्रहरीले अझै पत्ता लगाउन सकेको छैन । उनीहरूले नक्कली एटिएम बनाई अरूको खाताबाट पैसा निकाल्दै आएका थिए ।
नेपाल इन्भेष्टमेण्ट बैंकका ग्राहकले आफूहरूको पैसा हराएको उजुरी गरेपछि दुई महिना लामो अनुसन्धानमा उनीहरू पक्राउ परेका हुन् । ‘उनीहरूले कसरी डाटा ह्याक गरे भन्ने अझै खुलिसकेको छैन,’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी गजुसिद्धि बज्राचार्य भन्छन्, ‘अहिलेसम्मको अनुसन्धानमा केही विदेशीले नै उनीहरूलाई प्रयोग गरेकोजस्तो देखिएको छ ।’
स्रोतका अनुसार उनीहरूसँगै एक भारतीय नागरिक पनि सहयोग गर्न पोखरा गएका थिए । तर, ती भारतीय फरार भइसकेका छन् । पक्राउ परेकाहरूसँग बरामद भएको ल्यापटपलगायत सामान प्रहरीले खोल्न सकेको छैन । त्यसकारण अनुसन्धान जटिल बनेको छ ।
बैंकको डाटा ह्याक गरेर नक्कली एटिएम बनाई ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोहकै यसमा संलग्नता देखिएको प्रहरीको भनाइ छ । यसअघि पनि नेपालमा पटक–पटक एटिएम ठगीमा अन्तर्राष्ट्रिय गिरोहका व्यक्ति संलग्न रहेको खुलिसकेको छ । बैंकहरूको इन्टरनेट तथा कार्डमार्फत हुने कारोबार बढिरहँदा कारोबारको सुरक्षामा प्रश्न उठ्न थालेका छन् ।
एटिएम सुरक्षा चुनौती
एटिएम ठगीमा यसअघि पक्राउ परेकाहरूले नेपालका एटिएम बुथ प्रयोग गरी विदेशीकै पैसा चोरी गरेका थिए । तर, यसपटक नेपाली ग्राहककै पैसा नक्कली एटिएमबाट निकालिएको छ । यसले समग्र एटिएम सुरक्षामै प्रश्न उठाएको छ । सिआइबीबाट विशेषज्ञ टिम झिकाई अनुसन्धान अघि बढाइने डिएसपी बज्राचार्यले बताए ।
यसअघि काठमाडौंमा एटिएम ठगीमा बुल्गेरियन, टर्किस, भारतीय, बंगलादेशी, पाकिस्तानी नागरिक पक्राउ परिसकेका छन् । उनीहरूले भने विदेशी नागरिककै पैसा चोरी गरेका थिए । यसबाहेक बैंक कर्मचारीकै मिलेमतोमा नेपालमा एटिएममार्फत ठगी भएको छ । तर, हाल पोखरामा विदेशी नागरिकले नेपाली बैंकका ग्राहकको पैसा चोरी गरेको खुलेपछि बैंकिङ क्षेत्रमा तरंग आएको छ ।
कसरी जोगिने ?
नेपालमा एटिएमको प्रयोगसँगै ठगीका घटना पनि बढेका छन् । अन्तर्राष्ट्रिय ह्याकरसमेत सक्रिय रहँदै आएकाले बैंक र ग्राहक दुवै सतर्क हुनुपर्ने प्रहरीको भनाइ छ । म्याग्नेटिभ स्ट्राइभ प्रविधिका एटिएम कार्ड धेरै नक्कली बन्ने र डाटासमेत चोरी हुने भएकाले चिप कार्ड प्रयोग गर्न प्रहरीको सुझाब छ । बैंक खाताको स्टेटमेन्ट नियमित रूपमा बुझ्नुपर्ने तथा एटिएम प्रयोग गर्दा सजगता अपनाउनुपर्ने हुन्छ । एटिएम मेसिनमा अन्य कुनै डिभाइस जडान गरिएको देखेमा डाटा चोरी गर्न राखिएको हुन सक्ने भएकाले त्यसमा सतर्कता अपनाउन जरुरी हुने प्रहरीको भनाइ छ । नियमित रूपमा पिन नम्बर परिवर्तन गरी एसएमएस अलर्ट सिस्टम राख्दा एटिएम ठगी नियन्त्रण हुन सक्ने प्रहरी अधिकारी बताउँछन् । बैंकहरूले प्रविधिको सुरक्षामा ध्यान दिनुपर्ने र ग्राहकहरू पनि सचेत हुनुपर्ने सिआइबीका एसपी नरेश मल्ल बताउँछन् ।
‘बैंकहरूले हाई अलर्ट सेक्युरिटी राख्नुपर्छ,’ अपराध महाशाखाका डिएसपी पशुपति राय भन्छन्, ‘बैंकहरूले डाटा चोरी रोक्न सतर्कता अपनाउनुपर्छ, ग्राहक पनि सचेत हुनु जरुरी छ ।’
पैसा निकालेपछि स्लिप नफालौँ
एटिएमबाट पैसा निकालेपछि स्लिप पनि आउँछ । धेरैले उक्त स्लिप एटिएम काउन्टरमै फाल्ने गर्छन् । तर, त्यसरी स्लिप फाल्दा तपार्इंको पैसा चोरिने सम्भावना हुन्छ । सोही स्लिपका आधारमा सूचना लिएर नेपालमा एक वर्षअघि मात्र एटिएम ठगी भएको थियो ।
ठीक एक वर्षअघि महानगरीय अपराध महाशाखाले दुई भारतीय नागरिकलाई पक्राउ गरेको थियो । भूषण पाण्डे र दिलीपकुमार यादवलाई महाशाखाले पक्राउ गरेको थियो ।
उनीहरूले सिकाउने बहानामा बुथभित्र जाने र पिन चोर्नेसमेत गरेका थिए । उनीहरूले पैसा निकाल्ने क्रममा पिन नम्बर पत्ता लगाउने र ग्राहकले फालेको स्लिपका आधारमा डिटेल लिएर नक्कली एटिएम बनाई पैसा निकालेको महानगरीय अपराध महाशाखाका डिएसपी पशुपति रायले बताए ।
नेपालका एटिएम ठगी
नेपालमा करिब ६–७ वर्षअघि प्रविधिलाई चुनौती दिँदै चिनियाँ समूहले पिन कोड चोरी गरी एटिएममार्फत ठगी गरेको थियो । आफूहरूले एटिएमबाट पैसा निकाल्न नजानेको भन्दै पैसा निकाल्न सिकेको बहाना गरी उनीहरूले पिन नम्बर चोर्ने गर्थे । त्यस्तै, एटिएम मेसिनमा डाटा चोर्ने प्रविधि राखेर उनीहरूले ठगी गरेका थिए ।
नबिल बैंकका पूर्वकर्मचारी सबिन रिमालको योजनामा दुई वर्षअघि करिब एक करोड ठगी भएको थियो । भाइ रितेशसँग मिलेर नक्कली एटिएम बनाई उनीहरूले ठगी गरेका थिए ।
रिमाल दाजुभाइले रिजवान मुबारक भन्ने पाकिस्तानी नागरिकको सहयोगमा सो ठगी गरेका थिए । नबिल बैंकको नक्कली एटिएमबाट ५० लाखभन्दा बढी ठगी गर्ने सबिनले प्रहरीलाई दिएको बयानअनुसार मुबारकले नै उनलाई नक्कली एटिएमबाट ठगी गर्ने तरिका सिकाएका थिए । सबिनले प्रहरीलाई दिएको लिखित बयानमा पाकिस्तानी नागरिकले इन्टरनेट च्याटमा आफूलाई ठगीको तरिका सिकाएको उल्लेख छ । घटनाको लामो समयपछि सफल अनुसन्धान गरी प्रहरी उनीहरूलाई पक्राउ गर्न सफल भएको थियो ।
त्यस्तै, हिमालयन बैंकका आइटी विभागमा काम गर्ने अनिसभक्त सुवालले पनि एटिएम प्रविधिको दुरुपयोग गरी पाँच करोडभन्दा बढी रकम ठगी गरे । डेढ वर्षअघि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
विभिन्न ग्राहकको खाताबाट उनले रकम निकाली ठगी गरेका थिए । पछि, बैंकले ग्राहकलाई क्षतिपूर्ति दिएको थियो । प्रविधिको दुरुपयोग गरी हुन सक्ने बैंकिङ ठगी तथा अपराध रोक्न बैंकहरूले त्यहीअनुसार आफूलाई तयार बनाउनुपर्ने प्रहरी अधिकारी बताउँछन् ।
१० वैशाख २०७० मा प्रहरीले धनगढीबाट तीन युवकलाई नक्कली एटिएमसहित पक्राउ गरेको थियो । नैनीतालका सुरेशसिंह विष्ट, मोहनसिंह विष्ट र चन्द्रसिंह विष्ट पक्राउ परेका थिए । सुरज गुरुङ भन्ने भारतीय नागरिकले उनीहरूलाई पैसा निकाल्न पठाएका थिए । तर, मुख्य नाइकेलाई प्रहरीले पक्राउ गर्न सकेन ।
गत १६ कात्तिकमा नबिल बैंकको एटिएमबाट डाटा चोरी गर्न लागेको अवस्थामा बुल्गेरियन नागरिक भेसिलिन जर्जलेर पक्राउ परेका थिए । चिप रिडर, ल्यापटपलगायत डिभाइससहित उनलाई प्रहरीले दरबारमार्गबाट पक्राउ गरेको हो । त्यस्तै, १० चैत २०७१ मा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुल्गेरियाकै नागरिक पेट्रोस्लाभ रिस्टोभलाई पक्राउ गरेको थियो ।
एटिएम ह्याक गर्ने विदेशी नागरिक यसअघि धेरैपटक पक्राउ परिसकेका छन् । उनीहरूले प्रायः एटिएमका डाटा चोरी गरी नक्कली एटिएम कार्डमा ती डाटा राखेर पैसा निकाल्ने गरेका छन् । गत वर्ष मंसिरमा नै टर्किस नागरिक मेहमत गुलेमलाई प्रहरीले नक्कली एटिएम र त्यसको प्रयोग गरी निकालिएको २६ लाख रूपैया“सहित पक्राउ गरेको थियो ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.