-->
बेसीशहरमा चितुवाले मच्चायो बितण्डा, बजारबासीमा हल्लीखल्ली
Advertisement

आश गुरुङ । शनिबार बिहान करिब साँढे ८ बज्दै थियो । बेसीसहर–१२, त्रिवेणीटोलका स्थानीयले गैरीधारा नजिकै झिंगेखोलाको खोल्साछेउ चितुवा हिँडिरहेको देखे ।
त्रिवेणी शिव मन्दिर वरपर स्थानीयको होहल्लापछि भागेको चितुवा श्रीप्रसाद पौडेलको बाख्राको खोरमा र्छियो । त्यहाँबाट निस्किएर चितुवा खोल्सा छेउ दौडियो । स्थानीय कराए । सहरबासी पनि चितुवाको पछि पछि दौडिए ।
खोल्साबाट मूलबाटोतर्फको बस्तीमा चितुवा प्रवेश ग¥यो । स्थानीयको चर्को हल्लापछि वडा नं. ११, त्रिवेणीटोलकै हरिप्रसाद पौडेलको पुरानो कुखुराको खोरमा पस्यो । प्रहरी पनि उक्त ठाउँमा पुगे ।
बन कार्यालयमा जानकारी गराउँदा शनिबारको दिन कार्यालयका प्रमुखदेखि अधिकृत तहका कोही कर्मचारी नभएको र कार्यालय सहयोगीले केही गर्न नसक्ने भएपछि प्रहरी र स्थानीयले जंगलतर्फ पठाउने सल्लाह गरे ।
बेसीसहर बजारमा यसअघि पनि पटक–पटक चितुवा पस्ने गरेको घटना स्थानीयले सम्झे । २०७२ साल बैशाख १२ गते शनिबारको दिन पनि बजारमा चितुवा छिरेको थियो । त्यतिबेला चितुवाले टोकेर मानिस घाइते भएका थिए । आक्रमणबाट चितुवा पनि घाइते भएको थियो । उक्त दिन बिहान ११ बजेर ५६ मिनेटमा विनाशकारी भूकम्प गयो । गते नमिलेपनि बार र समय मिलेकाले स्थानीयले फेरि भूकम्प आउने हुन् कि भनेर त्रसित देखिन्थे । चितुवा हेर्न आउने सहरबासीको भीडलाई प्रहरीले थेग्न सकेको थिएन । प्रहरीले चितुवालाई आक्रमण नगर्न सचेत गराएको थियो ।
प्रहरी र स्थानीयको सल्लाहमा लखेटेर जंगलतर्फ धपाउन खोज्दा चितुवा दौडेर बारीमा लुक्यो । फेरि धपाउँदा स्थानीय राजकृष्ण श्रेष्ठको घरमा पसेको इन्सपेक्टर कमलबहादुर रजौरेले बताए । चितुवा घरको भुइँतला पस्दा नजिकै बाथरुममा राजकृष्ण नुहाइरहेका थिए । ‘हल्लाखल्ला भयो । बाहिर निस्कें । चितुवा मसंगै ठोक्कियो र भित्र पस्यो । म धेरै डराएँ’, तौलिया बेरेर बाहिर निस्केका राजकृष्णले भने ।
इन्सपेक्टर नरेशकुमार सिंहका अनुसार चितुवा भुइँतलाको भित्री कोठाको कुनामा छ । उक्त कोठामा पुराना काठहरु छ । त्यसलाई बाहिर निकाल्न सकिँदैन । ‘बाहिरबाट चुकुल लगाएर राखेका छौं । वरपर प्रहरी हुन्छ’, उनले भने, ‘चितुवा रिसाएको छ । यत्तिकै छोड्दा मानिसलाई आक्रमण गर्ने सम्भावना छ । सल्लाह गरेर राति ढोका खोलिदिनुपर्ला ।’


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.