Advertisement
|
काठमाडौं, साउन ६ – असी पुगी बसी खाने बेला रामेछापका दयानाथ प्रसाद पौडेल ट्याक्सी दर्ताका लागि आवेदन फाराम बोकेर लाइनमा हुनुहुन्थ्यो । सरकारले भूकम्प पीडितका लागि ट्याक्सी दर्ता आवेदन खुल्ला गरेपछि ८० वर्षे पौडेल लठ्ठीको सहाराले लाइनमा उभिनुभएको थियो ।
सरकारले भूकम्प पीडितका लागि खुल्ला गरेको ट्याक्सी दर्ताका लागि भूकम्प पीडितको प्रमाणपत्रमा जसको नाम उल्लेख भएको छ, स्वयं उपस्थित भएर दस्तखत र ल्याप्चे गरेको निवेदन फाराम दर्ता गराउनुपर्ने व्यवस्था गरेपछि पौडेल जस्ता वृद्धवृद्धा पनि लाइनमा बस्नुपरेको हो ।
‘८० बर्ष पुगेको बूढोलाई किन चाहिन्थ्यो र ट्याक्सी ? मैले पाए पनि मैले गुडाउन सक्ने होइन ? छोरानातिले उभिई दिनु भनेर म बूढो लाइनमा बस्न आएको बाबु !’ चिउँडो कमाउँदै वृद्धले भन्नुभयो’ ‘बाउ बाजेको पौरख, कमाई छोरानातिले त खाने हो नि ? होइन त बाबु ?’
भूकम्प पीडितले ट्याक्सी दर्ता गर्न पाउने भएपछि रामेछापका पौडेल जस्ता वृद्ध बा र कृषि पेशामा तल्लीन किसान पनि ट्याक्सी मोहले शहर छिरेका छन् । ‘ट्याक्सी परे हलो बिसाइन्छ, गोरुले पनि सुख पाउने भए’ ट्याक्सीका लागि आवेदन दिएपछि सापिङ–३ काभ्रेका केशवराज गिरी फत्फताउदै हुनुहुन्थ्यो ।
भूकम्पले लडाएको घर ठड्याउन नसकेपनि ट्याक्सी दर्ता गर्ने रहरले आवेदन दिन आएको गिरीले बताउनुभयो । ‘हाम्रो सानो चोक्टा बारी छ, खेत कमाएका छौं, कुनै बैंकले पत्यायो भने भाग्य खुल्छ कि हाम्रो पनि ?’ गिरीले भन्नुभयो । ‘सरकारले पैसा दिए घर बनाउँछु, ट्याक्सी राख्ने ठाउँ पनि बनाउला, मै बूढोले चलाउन नसकेपनि छोराले चलाउला नि ?’
कागज पूरा हुँदा पनि आवेदन लिएन
ट्याक्सी दर्ता आवेदनका लागि भूकम्प पीडित व्यक्तिको हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, नागरिकता प्रमाणपत्रको प्रतिलिपी, भूकम्प पीडित भएको आधिकारिक प्रमाणपत्रको सक्कल एवं सो को प्रतिलिपी पेश गर्नुपर्ने जनाएपनि पीडित स्वयं उपस्थित भएर उल्लेखित कागजात पेश गर्दा समेत आवेदन नलिएको पीडितको गुनासो छ ।
तथ्यांक संकलन विभागबाट खटिएका इन्जिनियरले संकलन गरेको लगत बमोजिम वितरण गरिएको परिचय पत्र देखाउँदा समेत जिल्ला दैवी प्रकोप उद्धार समितिले पहिले वितरण गरेको भूकम्प पीडित परिवार परिचयपत्र नै खोजेर कर्मचारीले दुःख दिएको सिन्धुपाल्चोकको निम्लुङ बजारका बेनुदास श्रेष्ठले बताउनुभयो ।
‘मैले पछिल्लो पटक लगत संकलन भएपछि पाएको कागजात देखाए, आवास पुनःनिर्माण अनुदान सम्झौता गरिसकेको छु, त्यो कागजात पनि देखाएँ र पनि कर्मचारीले मानेनन्, म भूकम्प पीडित नभए कसरी घर बनाउने सम्झौता गरें होला ?’ श्रेष्ठले भन्नुभयो ।
सरकारको कार्यक्रम प्रति पीडित असन्तुष्ट
भूकम्पपीडितका लागि ट्याक्सी दर्ता गर्न दिइने सरकारको कार्यक्रमप्रति पीडितले असन्तुष्टि व्यक्त गरेका छन् । सरकारले भूकम्पपीडित बाहेक अरु मापदण्ड नतोकी ट्याक्सी दर्ता गर्न दिईदा यसको दुरुपयोग हुने लाकुरीडाँडा दोलखाका ओमप्रकाश कार्कीले बताउनुभयो ।
‘ट्याक्सी दर्ता गर्नका लागि लाइसेन्स, उमेरको हद, आयको सीमा जस्ता प्रावधान तोकिनुपथ्र्यो’ कार्कीले भन्नुभयो । ‘भूकम्प पीडित लक्षित कार्यक्रम हो भने पीडितको सीपको आधारमा विभिन्न कार्यक्रम ल्याओस् ।
अहिलेको तरिकाले बाघको छालामा स्यालको रजाई हुन्छ’ अर्का पीडित ललितपुर चापागाउँका जनार्दन थापाले भन्नुभयो । सरकारले दुःख दिने काम गरेको भन्दै उहाँले भूकम्प पीडितबाट राजश्व संकलन गर्ने खेल भएको आरोप लगाउनुभयो । ‘सीमित संख्या तोकेर पीडित जम्मा गर्ने र असीमित आवेदन संकलन गरेर चिठ्ठा प्रणालीबाट ट्याक्सी गर्न दिने ? यो पीडित माथिको झेल हो ।’ उहाँले भन्नुभयो ।
यसरी दर्ता गर्न सकिन्छ आवेदन
यातायात व्यवस्था कार्यालय वाग्मतीको लेखा शाखामा एक सय रुपैयाँ रकम बुझाएको रसीद पेश गरेपछि कार्यालय आवेदन फाराम उपलब्ध गराउँछ । फाराम सँगै भूकम्प पीडित व्यक्तिको हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, नागरिकता प्रमाणपत्रको प्रतिलिपी, भूकम्प पीडित भएको आधिकारिक प्रमाणपत्रको सक्कल एवं सो को प्रतिलिपी पनि पेश गर्नुपर्छ ।
तोकिएको फाराम भरेपछि बिहान १० बजेदेखि ३ बजेभित्र ललितपुरको एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालयको साना, ठूला सवारी वाग्मतीमा दर्ता गर्नुपर्छ । पेश भएका आवेदनको कार्यालयले छानबिन गरी वास्तविक भूकम्प पीडितको निवेदन स्वीकृत गरी अन्तिम नामावली प्रकाशित गर्नेछ ।
सरकारले १५ सय ट्याक्सीका लागि आवेदन खुल्ला गरेको र निर्धारित संख्याभन्दा बढी निवेदन पर्न आएमा गोलाप्रथाद्धारा ट्याक्सी प्राप्त गर्ने व्यक्तिको छनौट गरिने जनाएको छ । आवेदन खुल्ला भएको पहिलो दिन बुधबार ११ सय आवेदन दर्ता भएको यातायात व्यवस्था कार्यालय वाग्मतीले जनाएको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...