Advertisement
|
काठमाडौं । टोलटोलमा झगडा गर्दागर्दै गुण्डा भएकाहरू पछि ‘गुन्डा नाइके’ भए । तिनै टोले गुण्डाहरू प्छि प्रहरीको टाउको दुःखाईका पात्रसमेत बने । नाम चलेका गुण्डाहरू यतिबेला ‘इन्काउन्टर’ को डरले छायाँमा बसेका छन् । सक्रिय भएकाहरू पनि तुरुन्तै प्रहरीको सम्पर्कमा रहने गरेका छन् । केही समयअघि दीपक मनांगेले फखेटा फिँजाउन खोजेका थिए, उनलाई प्रहरीले आफ्नो नियन्त्रणमा लियो भने केही उमेरले पनि बुढा भइसकेका छन् । राजु गोर्खाली लामो समयदेखि गुमनाम जस्तै छन् ।
यतिबेला मोरङका अभिषेक गिरी, रामेछापका रमेश बाहुन केन्द्रीय कारागार सुन्धारामा छन् । उनीहरूको पृष्ठभूमि फरक फरक छ । बाहुन नेपाली सेनाका भगौडा हुन् भने गिरी अलि पढेलेखेका मोरङका सामान्य किसान परिवारका मानिस हुन् ।यी दुवै केही समयअघिसम्म गोलघरमा थिए । दुवै गुन्डा नाइकेको झगडा पर्न थालेपछि रमेश बाहुनलाई गोलघर बाहिर र गिरीलाई भित्र राखिएको स्रोतले जनाएको छ । ललितपुरमा मीनकृष्ण महर्जनमाथि गोली प्रहार गरेर भागेका रमेश बाहुनलाई प्रहरीले भारतबाट पक्राउ गरी नेपाल ल्याइएको हो । अपहरण फिरौती, जबर्जस्ती रकम असुलीजस्ता अभियोगमा पनि गिरीसँगै रमेश बाहुनले सजाय काटिरहेका छन् ।
Gunda 2
त्यस्तै, प्रहरी इन्काउन्टरमा मारिएका दिनेश अधिकारी चरीका दाहिने हात मानिने पञ्चे लामा पनि गोलीकाण्डमा दोषी देखिएपछि अहिले केन्द्रीय कारागारमा छन् । चरी समूहकै जयराम खड्का पनि अपहरण मुद्दामा डिल्लीबजार जेलमा छन् । प्रहरी इन्काउन्टरमै मारिएका कुमार घैंटेका सहयोगी लुम मणि पनि गुन्डागर्दीको अभियोगमा जेल सजाय काटिरहेका छन् । धेरै गुण्डाहरू यतिबेला सजाय काटिरहेका छन ।
तीन साताअघिदेखि गुन्डा नाइके दीपक मनांगे पनि प्रहरी नियन्त्रणमा छन् । प्रहरी इन्काउन्टरमा मारिएका दिनेश अधिकारी चरी र कुमार घैँटेको समूहमा रहेका युवालाई लोभलालच देखाएर मनांगे फेरि गुन्डागर्दीमा सक्रिय हुन लागेको थाहा पाएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीमाथि शरीर बन्धक र संगठित अपराधको मुद्दा चलाउने प्रहरीको तयारी छ । त्यस्तै, ललितपुरमा गुन्डागर्दीमा संलग्न विकास महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
को को छन् प्रहरी घेराभन्दा बाहिर ?
मिलन चक्रे, गणेश लामा, पर्शुराम बस्नेतजस्ता नाम चलेका ‘गुन्डा नाइके’ अहिले बाहिरै छन् । मिलन चक्रे र गणेश लामा मुलुक बाहिर छन् । पर्शुराम बस्नेत भने एमालेका प्रभावशाली नेताको आडमा रहेर गुन्डागर्दी गर्छन् । मिलन चक्रे, गणेश लामा, पर्शुराम बस्नेत छायाँका रूपमा आपराधिक क्रियाकलापमा लागेको प्रहरी स्रोतको दाबी छ ।
मिलन चक्रे दीपक तालुमार्फत ललितपुर क्षेत्रको गुन्डागर्दीमा सक्रिय छन् ।दीपक मनांगेकै सहोदर भाइ रेम्बो पनि उपत्यकामा सक्रिय छन् । गणेश लामासँग छुट्टिएर विष्णु लामा केही युवाको साथमा गुन्डागर्दीमा सक्रिय छन् । बाफल क्षेत्रमा समिरमानसिंह बस्नेत सक्रिय छन् । उनको समूहमा राधे भण्डारी र शिव खड्का छन् ।
बौद्धमा झिंगे भन्नेको गुन्डागर्दी प्रहरीले रोक्न सकेको छैन । काभ्रे र ललितपुरलाई कार्यक्षेत्र बनाएर दावा लामा गुन्डागर्दीमा सक्रिय छन् । उनलाई अशोक लामा, पञ्चे लामा र सुजन तामाङले साथ दिएका छन् । चरी समूहमा लागेका र उनी मारिएपछि घैंटे समूहमा आएका दोधा लामा पनि युवाहरूको जमात लिएर उपत्यकाको गुन्डागर्दीमा संलग्न रहेको प्रहरीले जनाएको छ । भक्तपुरको बालुवाखानीमा रामेश्वर गौतमको एकलौटी राज छ । – मिडिया एनपी

0 comments
प्रतिक्रिया दिनुहोस्...