-->
शेयरबजारका हल्ला र वास्तविकता:-(लगातार बढेको बजार परिसूचकप्रति सचेत हुन भन्दै सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एक सार्वजनिक सूचना जारी ग¥यो । नेप्सेले यो सूचनामा लगानीकर्तालाई सत्यतथ्य सूचनाको आधारमा मात्र कारोबार गर्न र हल्लाको वास्तविकता बुझेर (भेरिफाई गरेर) मात्र लगानीसम्बन्धी निर्णय लिन अनुरोध गरेको छ)
Advertisement

लगातार बढेको बजार परिसूचकप्रति सचेत हुन भन्दै सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एक सार्वजनिक सूचना जारी ग¥यो । नेप्सेले यो सूचनामा लगानीकर्तालाई सत्यतथ्य सूचनाको आधारमा मात्र कारोबार गर्न र हल्लाको वास्तविकता बुझेर (भेरिफाई गरेर) मात्र लगानीसम्बन्धी निर्णय लिन अनुरोध गरेको छ । नेपालको एक मात्र शेयरबजार सञ्चालक र प्रथम श्रेणीको नियामकसमेत मानिने नेप्सेको यस्तो सूचनाले आमलगानीकर्ता तथा सरोकारवालाहरूमा विभिन्न प्रश्न उब्जाएको छ ।
सूचनामा भनेजस्तो हल्लाको ‘भेरिफिकेशन’ लगानीकर्ताले कसरी गर्न सक्लान् ? लगानीकर्ताको पक्षमा निर्णय गर्ने अधिकारसमेत भएको बजार सञ्चालकले हल्लाको भेरिफिकेशन गर्ने जिम्मेवारी लगानीकर्तालाई नै छाड्नु कतिको उचित हो ? यस्ता प्रश्नको जवाफ दिने कसले ? भन्ने अर्को गहन प्रश्न खडा भएको छ, अहिले । वास्तवमा कुन हल्लाले बजारमा कसरी काम गरेको छ भनेर सूक्ष्म अध्ययन गर्ने तथ्यका आधार आमलगानीकर्तालाई जानकारी गराउने दायित्व नेप्सेकै हो । नेप्सेसँग त्यस्ता कम्पनीको कारोबार केही समयलाई रोक्ने, हल्लाको वास्तविकता स्पष्ट गर्न सम्बन्धित कम्पनीसँगै जानकारी माग गर्ने अधिकार पनि छ । बेला बखतमा नेप्सेले यो भूमिका निर्वाह गर्दै आएको पनि छ । तर, अहिले पनि यसरी सूचना सार्वजनिक गर्नुअघि यस्तो जानकारी बाहिर ल्याउन नसकेकोमा आमलगानीकर्ताको गुनासो देखिएको छ ।
नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जले बजारको अनुगमन र सुपरिवेक्षण गर्छन् । लगानीकर्ताहरूबीच फैलिएका हल्लाका बारेमा उनीहरू अवगत पनि हुन्छन् । यस्तो जानकारी उनीहरूले आफ्नो ‘सर्भेलेन्स’ र ‘इण्टेलिजेन्स’ प्रणालीमार्फत पाउँछन् । कुनै हल्लाले बजारका लगानीकर्ता वास्तवमै जोखीममा छन् भने यस्तो खबर सार्वजनिक गर्न यी निकायले आनाकानी गर्नु हुँदैन । कुन कम्पनीबारे कस्तो हल्ला चलाइँदै छ ? किन चलाइँदै छ ? भन्ने जानकारी लगानीकर्ताले पनि थाहा पाउनुपर्छ ।
यस्तो हल्ला फैलाउनेहरू जुनसुकै निकायका र जति नै ठूला पदधारी नै किन नहुन्, यस मामिलामा उनीहरूसँग प्रश्न गर्ने अधिकार यी दुवै निकायसँग रहन्छ । अन्तरराष्ट्रिय बजारमा यस्तो गरिएका उदाहरण पटकपटक देख्न र सुन्न पाइएका छन् ।
लगानीकर्ताहरूले प्राविधिक र आधारभूत विश्लेषण गर्ने गरे भने जोखीम कम हुने नेप्सेको सूचनाको आशय छ । अधिकांश नेपाली लगानीकर्ताको बानी भने प्राविधिकभन्दा पनि आधारभूत पक्षलाई पछ्याउने खालको छ । कसको वित्तीय विवरण कस्तो आउँदै छ ? पूँजी संरचनामा के हुँदै छ ? कसले कति हकप्रद दिँदै छ ? कति बोनस दिँदै छ ? भन्नेमा नै धेरै लगानीकर्ताको ध्यान जाने गरेको छ । सूचीकृतमध्ये अधिकांश कम्पनीको वित्तीय विवरण सकारात्मक र वृद्धिदर उच्च देखेकै कारणले पनि लगानीकर्ताहरू त्यस्तो संस्थामा लाग्ने गरेको देखिन्छ । यसको अर्थ उनीहरू नजानेरै भए पनि आधारभूत विश्लेषणकै आधारमा निर्णय लिन्छन् भन्ने हो ।
धितोपत्र बोर्ड र नेप्सेले पनि कम्पनीले गरेको बोनस तथा हकप्रद शेयरको घोषणालाई हल्का रूपमा लिने गरेको पाइन्छ । कतिपय कम्पनीहरूले आफ्नो सञ्चालक समितिको बैठकबाट बोनस तथा हकप्रद शेयर दिने प्रस्ताव गरेको जानकारी नेप्सेलाई पठाएर नेप्सेको वेबसाइटबाटै त्यो सार्वजनिक गर्ने गरे पनि त्यस्तो घोषणा कार्यान्वयनको प्रक्रिया भने पटक्कै अगाडि नबढाउने गरेको पनि देखिएको छ । शेयर मूल्य बढाउनकै लागि आएको देखिने यस्ता घोषणाप्रति बोर्ड र नेप्सेको ध्यान पुगेको देखिँदैन । लगानीको प्राथमिक आधार नै आधारभूत विश्लेषण हो । लगानीकर्ताहरू यस्तो विश्लेषणका आधारमा कम्पनी छनोट गर्छन् र त्यो कम्पनीको शेयर कहिले किन्ने र कहिले बेच्ने भन्ने समय छनोटका लागि मात्र प्राविधिक विश्लेषणको सहयोग लिन्छन् । हुनुपर्ने पनि यही हो । पूर्णतः प्राविधिक आधारमा मात्र लगानीकर्ताहरूले लगानी गरेको पाइँदैन । अझ प्राविधिक विश्लेषणको जटिलताले गर्दा धेरैले यो विश्लेषणलाई नै बेवास्ता गरिरहेकोसमेत पाइन्छ । त्यसैले पनि आधारभूत विश्लेषणका रूपमा रहने जानकारीहरूको आधिकारिकता, विश्वसनीयता कायम गर्न नेप्से तथा धितोपत्र बोर्डले पनि आफ्नो नियामकीय भूमिका निर्वाह गर्न जरुरी छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.