Advertisement
|
पुनर्वास, ५ असार । कञ्चनपुरको दक्षिणी बेल्ट पुनर्वासको सीमावर्ती क्षेत्रमा भारतीय सीमा सशस्त्र बल एसएसबीले केही दिनदेखि आतङ्क मच्याउँदै आएको छ ।
अधिकांश सुकुम्बासीबस्ती भएको सो क्षेत्रमा सीमावर्ती क्षेत्रमा स्थानीयद्वारा खनजोत हुन थालेपछि हातहतियारसहित आएका भारतीय एसएसबीले उनीहरुलाई आतङ्कित बनाएका हुन् ।

नेपाल भारत सीमाना पिल्लर न १९९ र २०१ नजिकै रहेको नमूना सामुदायिक बनपरिसरमा खुल्लेआम हातहतियार सहित एसएसबी आउन थाले पछि सो क्षेत्र निकै आतङ्कित बन्दै गएको छ । खनजोत गरे समातेर लैजाने धम्की दिँदै, उनीहरुको फोटोसमेत खिची मानसिक यातनासमेत दिदै आएको प्रत्यक्षदर्शी नन्दकला शाहीको भनाई छ ।

सो क्षेत्रमा नेपाल–भारत २०० नम्बर पिल्लर नहुनाले पनि सो क्षेत्र पटक–पटक विवादमा मुछिदै आएको हो । वर्षाैं पहिले हराएको पिल्लरको बारेमा हालसम्म पनि कुनै ठोस पहल हुन नसकेको सीमावर्ती आनन्द बजार समितिका अध्यक्ष दानबहादुर शाहीको गुनासो छ । झण्डै ७ सय मिटर नेपालतर्फको भू–भागमा खुल्लेआम हातहतियार सहित आएर यो भूमी भारतमा पर्छ भन्नु भारतको हेपाय प्रवृत्ति भएको उनले बताए ।
केही दिनदेखि भारतीय एसएसबीको आतङ्क बढ्दै गएपछि स्थानीय बासीले प्रहरी प्रशासनलाई हारगुहार गर्न बाध्य भए । स्थानीय प्रहरी प्रशासन र भारतीय सीमा सुरक्षा बल एसएसबीबीच मौखिक बार्ता गरिएको थियो ।
बार्तामा नेपालीपक्षबाट विवादित क्षेत्रमा खनजोत गर्न नपाईने र भारतीय पक्षबाट कुनै पनि प्रकारको आतङ्क मच्चिने खालको कृयाकलाप गर्न नपाई भनी मौखिक सम्झौतामा विवाद साम्य भएको थियो ।

0 comments
प्रतिक्रिया दिनुहोस्...