Advertisement
|
असार १५, पोखरा । पर्यटकीय नगरी पोखरामा १३औं संस्करणको असारे रोपाइँ महोत्सव बुधबार सम्पन्न भएको छ । करीब २० हजार दर्शकले महोत्सव अवलोकन गरेको आयोजक संस्था पोखरा पर्यटन परिषदका अध्यक्ष सोम थापाले जानकारी दिए । झण्डै २५ देशका ५ सय जना विदेशी पर्यटकले महोत्सवमा भाग लिएका थिए ।
अमेरिका, चीन, कोरिया, जापान, स्पेन लगायतका देशबाट विदेशी पर्यटक महोत्सवमा हिलो खेल्न आएको थापाले जानकारी दिए । महोत्सवमा आएका पर्यटक हिलो छ्यापाछ्याप गर्दै रमाएका थिए । महोत्सवमा आयोजित हिलोमा डोरी तान्ने, माछा समात्ने, दौडने प्रतियोगितामा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्यो ।
‘पोखरा सबै मौसमका लागि’ नाराका साथ परिषदले बिगत १३ वर्षदेखि असार १५ गते महोत्सव गर्दै आइरहेको छ । खेतमा हलो जोतेर सँस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले महोत्सवको उद्घाटन गरे ।
उक्त अवसरमा बोल्दै उनले नेपालको पर्यटन प्रवद्र्धनमा यस्ता मेला तथा महोत्सवहरु सहयोगी बन्ने बताएका छन् । देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन कृषिको आधुनिकीकरणमा जोड दिनुपर्ने उनले बताए ।
कृषि क्षेत्रमा युवाको आकर्षण बढाउन महोत्सव आयोजना गरिएको परिषदका महासचिव रामु गौतमले जानकारी दिए । खेतीयोग्य जमिनको संरक्षण तथा कृषकलाई आफ्नो पेशाप्रति अभिपे्ररित गर्न महोत्सव सफल भएको आयोजकको दावी छ । परम्परागत कृषि प्रणाली मार्फत पोखराको पर्यटन प्रवद्र्धन गर्ने मूल उद्देश्यका असारे रोपाइँ महोत्सव गरिएको परिषद्का पूर्व अध्यक्ष तथा महोत्सव संयोजक डम्बरबहादुर केसीले जानकारी दिए ।
पोखरा–१७ महतगौंडास्थित राम भण्डारी एवम् विक्रम भण्डारीको ६ रोपनी क्षेत्रफल खेतमा महोत्सव भएको हो । कास्कीका उत्कृष्ट कृषकलाई उक्त अवसरमा सम्मान गरिएको थियो ।
तरकारी तथा फलफुल बालीतर्फ रामजी पौडेल, खाद्यान्न बालीतर्फ पितृराज मरासिनी र कुखुरा तथा पशुपालनतर्फ टीकाराम बराल सम्मानित भएका हुन् । अहिलेसम्म कृषि क्षेत्रमा क्रियाशील ८८ वर्षीय चन्द्रकान्त भण्डारी, ८४ वर्षीया नन्दकली राना मगरलाई पनि सम्मान गरिएको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...