Advertisement
|
आषाढ १०। यस वर्षको एसएलसीमा सर्वोत्कृष्ट अंक जीपीए ४ ल्याएर रूपन्देहीको सैनामैना नगरपालिका ४ मुर्गियाकी समीक्षा सुवेदी चर्चामा छिन्। एसएलसी बोर्ड टपको घोषणा गर्ने व्यवस्था २०६२ सालदेखि सरकारले बन्द गरे पनि अनौपचारिक रूपमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीको चर्चा गर्ने क्रम भने जारी छ।
समीक्षाले ६ महिनाको उमेरमै अर्घाखाँचीको डाँडाकटेरीमा भएको बस दुर्घटनामा आमा गीता सुवेदीलाई गुमाएकी थिइन्।बस पल्टेपछि आमाले समीक्षालाई झ्यालबाट झाडीमा फालेकी थिइन्।त्यस क्रममा उनका दुवै खुट्टा भाँचिएका थिए।पछि उपचार गरेर उनी निको भइन्।
उनलाई हजुरबुबा र हजुरआमाले जन्म दिने आमाले जस्तै मायाममता दिएर हुर्काए।यस्तो कारुणिक पृष्ठभूमिका कारण पनि समीक्षाको उपलब्धि यतिबेला सबैलाई खुसीको क्षण बनेको छ।प्रस्तुत छ, समीक्षासँग अन्नपूर्णकर्मी महेन्द्र थापा ले गरेको अन्तरसंवाद
आफ्नो परिचय र आफूले पढेको विद्यालयबारे भनिदिनुस् न।
मेरो जन्म २०५६ साल कात्तिक ११ गते रूपन्देही मुर्गियाको सिसौडाँडामा भएको हो।नर्सरी कक्षा यहींको ग्यालेक्सी बोर्डिङमा पढें।त्यसपछि मुर्गियाकै सुनगाभा पब्लिक उच्चमाविमा यूकेजीदेखि १० कक्षासम्म पढें।सुनगाभाले नै मलाई यो उपलब्धि दिलायो।
यसअघि कक्षामा तपाईंको स्थान कहाँ थियो?
म चार वर्षको उमेरदेखि विद्यालय गएकी हुँ।नर्सरीदेखि कक्षा १० सम्मै दोस्रो भएको, शुल्क तिरेको र कापीकिताब किन्नुपरेको अनुभव छैन।पुरस्कारस्वरूप सिल्ड, कापी, किताब र प्रमाणपत्रको भारी बोकेर घर आउँदा परिवारमा असीम हर्ष देखिन्थ्यो।कक्षा पाँचसम्म विद्यालय प्रथमसमेत हुन्थें।मेरो उपलब्धिमा सबैभन्दा बढी खुसी हजुरबुबा हुनुहुन्थ्यो।
-तपाईंलाई जन्मदिने आमासरह मायाममता कसले दियो?
हजुरबुबा र हजुरआमाले।बढी हजुरबुबाले।रजस्वला हुन थालेपछिमात्र हजुरबुबाको बिस्तरामा सुत्न छोडेकी हुँ।परिवारका सदस्यमध्ये पहिलो सम्झना गर्नुपर्दा हजुरबुबालाई नै सम्झन्छु।त्यसपछि बुबा, सानीआमा, फुपू, परिवार र आफन्त सबैले मलाई उत्तिकै माया र स्नेह दिनुभएको थियो।
-आमा गुमाएको कुरा कहिले थाहा पाउनुभयो ?
जान्ने भएपछि थाहा भयो।घरमा आउने आफन्तजनले त्यो घटना सुनाएर मलाई मायाममता दिनुहुन्थ्यो।
-आमा कस्ती हुनुहुन्थ्यो होला भन्ने लाग्छ ?
आमाको अनुभव नभएको र मायाममताको कमी पनि नभएकाले यस्तो सम्झना हुँदैन।
-सानीआमा लक्ष्मी सुवेदीको व्यवहार कस्तो रह्यो?
राम्रो व्यवहार गर्नुहुन्छ।भाइ आशीष र मलाई विभेद गर्नुहुन्न।भाइ एक्लै स्कुल जान नमान्ने र मलाई पनि एक्लै स्कुल जान मन नलाग्ने भएकाले दिदीभाइ सँगै स्कुल जान पर्खनाले म एक वर्ष ढिला स्कुल गएँ।त्यसैलै यसै वर्ष दिदीभाइले एकैचोटि एसएलसी गर्यौं।मेरी आमातर्फ एउटी दिदी हुनुहुन्छ।उहाँ स्नातक गर्दै हुनुहुन्छ।
-पढाइबाहेक अरू केमा रुचि छ?
हाजिरीजबाफ, स्पेलिङ कन्टेस्ट, भलिबल, जम्पजस्ता अतिरिक्त क्रियाकलापमा पनि पुरस्कार जित्थें।साहित्यमा खासै रुचि छैन।
-पढाइको समयतालिका कस्तो थियो?
प्रत्येक विषयलाई समय विभाजन गर्थें।साँझमा गृहकार्य र अभ्यास गर्थें।बिहानमा थ्यौरी विषय पढ्थें।बिहान साढे चार बजेभित्र उठ्छु।राति ११ बजेभित्र सुत्छु।बेलुका फ्रेस हुने समय पनि निकाल्थें।घरायसी काममा पनि सघाउँछु।काम नगर्न र पढ्नमात्र भने पनि काम गर्छु।
-भविष्यको योजना के छ ?
विज्ञान विषय पढेर सक्षम चिकित्सक बनेर समाजसेवा गर्ने इच्छा छ।यस्तो चाहना मलाई सानैदेखि आउँथ्यो ।
-आमाको सम्झनामा केही गर्ने विचार छ?
समाजसेवा गर्ने इच्छा छ।
-तपाईंजस्तै विद्यार्थीलाई के सुझाव दिनुहुन्छ?
हरेक विषयलाई उत्तिकै महत्व दिएर पढ्नुपर्छ।मेहनत, लगनशीलता र भाग्यको संयोजन नै सफलता हो।
-छात्रवृत्तिका प्रस्ताव आएका छन् कि छैनन् ?
बुटवलका अक्सफोर्ड, मणिमुकुन्द र होराइजन उच्चमाविले प्रस्ताव गरेका छन्।यी तीनवटै विद्यालय विज्ञान र व्यवस्थापन विषयका लागि पश्चिम नेपालका उत्कृष्ट संस्था हुन्।काठमाडौंमा पनि आफन्तसँग कलेजहरूले कुरा गरिरहेका छन्।टुंगो लगाउन बाँकी छ।
राम्रो छात्रवृत्ति सुविधा पाएमा बुटवलको होराइजनमा पढ्ने विचार छ।हजुरबुबाको चाहना पनि नातिनी नछुट्टियोस् भन्ने छ।परिवारको सल्लाहबमोजिम निर्णय हुन्छ।हाम्रो आर्थिक अवस्था कमजोर भएकाले जसले राम्रो अफर दिन्छ, त्यहीं पढ्ने विचार छ। स्रोत: अन्नपूर्ण पोस्ट

0 comments
प्रतिक्रिया दिनुहोस्...