-->
गर्भवती महिलाको कारुणिक पीडा : जलेको शरीरभित्रै शिशु हुर्कँदै, उपचार गर्ने सार्मथ्य नहुँदा समस्या
Advertisement

पति देशबहादुर राईका साथमा कुमारी
मोरङ– शरीर जलेर उनी पूरै असक्त छिन् । मुस्किलले हिँडडुल गर्छिन । घाँटीदेखि कम्मरसम्म डढेर कालै भएको छ । चिकित्सकले उनलाई प्लास्टिक सर्जरी गर्न सल्लाह दिएका छन् । तर, रकम अभावले घरमै थलिएर बसिरहेकी छिन् ।
मोरङ, उर्लाबारी–६ मङ्गलबारेकी ३३ वर्षीया कुमारी राईले यस्तो कारुणिक पीडा भोगिरहेकी छिन् । गत पुस १२ गते घर छेउकै कटेरोमा सुँगुरलाई चारो पकाउँदै गर्दा अचानक उनको सारीमा आगो सल्किएर यस्तो दुर्दशा भएको हो ।
“हुरी बतास चलिरहेको थियो । सँगुरलाई चारो पकाउँदै थिएँ । पोलिस्टरको सारी लगाएकी थिएँ । कतिखेर आगो सल्किएछ थाहै पाइनँ । सारीमा आगो सल्किएपछि शरीर जलेर बिहोस भएँ । अस्पताल पुगेपछि मात्र थाहा पाएँ शरीर बेस्सरी चरचर पोलिरहेको थियो । कम्मर, पेट र घाँटी डढेर कालो भएको थियो” – मलिन स्वरमा कुमारीले भनिन् ।
आगोले शरीर जलेपछि आफन्तले उनलाई झापाको भद्रपुरस्थित मेची अस्पताल पु¥याए । तीन महिना उपचार गरेपछि अस्पतालले घर पठायो । त्यतिखेर ऋण र सरसहयोग जुटाएर भेला गरेको रु ३५ हजार सिद्धियो । चिकित्सकले प्लास्टिक सर्जरी गर्नु भनेका छन् । तर, अहिले प्लास्टिक सर्जरी गर्ने उनीसँग रकम छैन ।
उर्लाबारी मङ्गलबारे बजार उत्तरपट्टि सात धुर जग्गामा बनेको सानो झुपडीबाहेक आफूहरुको कुनै सम्पत्ति नभएको कुमारीका पति देशबहादुर राईले बताए । कुमारीको प्लास्टिक सर्जरी गर्न धरान अथवा काठमाडौँ लानुपर्ने र करिब रु ६ लाख खर्च लाग्ने चिकित्सकले जानकारी दिएको उनले बताए ।
आगोले शरीर जलेर अशक्त बनेकी कुमारी अहिले गर्भवती छिन् । उनी गर्भवती भएको नौ महिना पुग्न लागेको पति देशबहादुरको भनाइ छ ।
ratopati


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.