-->
सात दिनभित्र बस्ती छोड्न निर्देशन !
Advertisement

गर्जुवा (धनकुटा): बाढी र पहिरोको उच्च जोखिम रहेको भन्दै जिल्ला दैविक प्रकोप उद्धार समितिले महाभारत–२ गर्जुवाखोला किनारका बासिन्दालाई सात दिनभित्र बस्ती छोड्न निर्देशन दिएको छ ।
समितिका पदाधिकारीले बुधबार स्थलगत अनुगमन गरी गर्जुवाखोला किनारका बस्ती अत्यन्तै जोखिममा रहेको भन्दै त्यहाँका घरवरिवारलाई बस्ती छोडेर सुरक्षित स्थानमा सर्न निर्देशन दिएको हो । गर्जुवा खोलाको किनारमा १६ घरपरिवारको बसोबास छ । बर्खाको मौसममा गर्जुवाखोलाको शिर डडुवाबाट बर्सौदेखि निरन्तर रूपमा पहिरो गइरहेको छ ।
पहिरोका कारण गर्जुवाको किनारमा रहेका बस्ती उच्च जोखिममा छन् । माथिबाट खसेको पहिरोले बस्ती पुर्ने र खोलो बस्तीमा पसेर घर बगाउन थालेपछि स्थानीय त्रसित छन् । खोलाको बाढीले पछिल्ला केही महिनायता एक दर्जनभन्दा बढी पटक कोसी राजमार्ग अवरुद्ध पारिसकेको छ ।
गर्जुवाको बस्ती जोखिममा छ । त्यही भएर आसपासका स्थानीयलाई सुरक्षित स्थानमा सर्न अनुरोध गरिएको उद्धार समितिका सदस्यसचिव स्थानीय विकास अधिकारी गणेशप्रसाद दाहालले बताए । उनका अनुसार यसभन्दाअघि वर्षात्मा आएको बाढीले गर्जुवाखोलामा रहेका दुईवटा पक्की पुल बगाइसकेको छ ।
‘बस्तीका अधिकांश घरपरिवारको जग्गा अन्यत्र पनि रहेको बुझिएको छ’, उनले भने, ‘हामिले दिएको समय सीमाभित्र बस्ती खाली हुन्छ ।’ त्यस्तै कोसी राजमार्गअन्तर्गत गर्जुवाको शिर डडुवाको बस्ती पनि जोखिममा रहेकाले त्यहाँका स्थानीयलाई गाविस सचिवमार्फत सुरक्षित स्थानतर्फ स्थानान्तरण हुन निर्देशन दिइएको उनले बताए ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.