Advertisement
|
काठमाडौं, साउन ७ – ललितपुर धापाखेल बस्ने अनुषा राउतलाई ८ वर्ष अगाडि आफूले गरेको निर्णयले अहिले पछुतो मात्र लाग्ने गरेको छ । राउत हिजो आज एउटै कुरा सोच्नुहुन्छ, ‘मिल्ने भए पहिला गरेका सबै गल्तीहरुलाई सुधार्ने थिएँ ।’
राउतलाई लाग्छ, ‘कुनै बेला नजानेर, नबुझेर लिएको निर्णय र जीवनमा आएका परिस्थितिहरुले जीवनको रुपरेखा नै बदलिदिन्छन् । निर्णय लिने बेलामा पछि हुन सक्ने सम्भावित नतिजालाई ख्याल नराख्दा जीवनमा आँधी हुरी नै आउने गर्छ ।’ ८ वर्ष अगाडि उहाँले आफ्नो उमेर बढाएर नागरिकता बनाउनुभयो र विदेश जानुभयो ।
२३ वर्षकी राउतको स्थायी घर वीरगञ्ज हो । पढदा पढ्दै उहाँलाई एक्कासी विदेश जान मन लाग्यो । उहाँको बाबा ठेक्कापट्टाको काम गर्नुहुन्थ्यो । एकजनाको कमाइले घर चलाउन अलि मुश्किल नै भएको थियो । उमेर बढ्दै आएपछि आफ्ना इच्छा र चाहना पनि बढ्न थालेका थिए । परिवारले त खान लगाउनलाई मुश्किल परेको बेलामा आफ्नो इच्छा पूरा गर्ने अवस्था पनि थिएन । त्यसैले उहाँले उमेर नै नपुगी नागरिकता बनाउनुभयो र राहदानी बनाएर विदेश जाने सोच्नुभयो । उमेर बढाएर नागरिकता बनाएपछि उहाँ दुबईमा काम गर्न पुग्नुभयो ।
उमेर बढाएर विदेश जानेमा धरानकी संगीता विश्वकर्मा पनि हुनुहुन्छ । साउदी अरबमा ३ वर्ष काम गरेर फेरि कुवेत गएकी उहाँले कुवेतमा ५ वर्ष बिताउनुभयो । उहाँ नागरितामा दुई वर्षमा बढाएर भारतको बाटो हुँदै साउदी अरब जानुभएको थियो ।
नारायणहिटीको राहदानी विभागमा यसरी उमेर बढाएर राहदानी बनाउन आउने धेरै छन् । उमेर बढाएर राहदानी बनाउन आउनेमा पुरुष भन्दा पनि महिला धेरै भएको वैदेशिक रोजगार परामर्श केन्द्रले जनाएको छ ।
रोजगारीको लागि विदेश जाने भन्दै राहदानी बनाउन आउनेहरु धेरै दलालमार्फत आउने गरेको केन्द्रले जनाएको छ । केन्द्रकी माया तुलाचन्दका अनुसार, राहदानी बनाउन दलालसँग आएका छन् भने परामर्शको दिने ठाउँमा आइ नै पुग्दैनन् । उमेर बढाएर राहदानी बनाउँन आएका कतिजना झूठो बोल्ने गरेका छन् ।
राउतले पनि विदेश जाने बेलामा पनि यस्तै गनुभएको थियो । ‘छिमेकका काका, दाइहरुले बिदेशमा राम्रो काम पाइन्छ भन्नुभयो’ उहाँ भन्नुहुन्छ, ‘उनीहरुले भनेको भरमा म केही कुरा नबुझी गएँ र तीन महिनामा फर्केर आएँ ।’
दुबईको यात्राले उहाँको जीवनमा धेरै परिवर्तन ल्यायो । घरको अवस्था जस्तो भएपनि बाबुआमाको प्यारमा बसेको विदेशमा झलझली याद आयो । उहाँ दुबईमा पनि घरकै काम गर्नुहुन्थ्यो, तलब पनि राम्रो नै थियो । तर दुबईको हावापानी अलि सुहाएन क्यारे, उहाँलाई सञ्चो भएन । कपाल झर्न थाल्यो, ज्वरो आएको निको पनि भएन । जति प्रयास गर्दा पनि निको नभएपछि उहाँ तीन महिना बित्ने बित्तिकै नेपाल फर्कनुभयो ।
यसरी कमाउन गएको मान्छे बिरामी भएर फर्कंदा धेरै कुरामा असर पर्यो । पहिलेको दिन सम्झदै उहाँ भन्नुहुन्छ, ‘कमाउन गएको मान्छे उल्टै धेरै खर्च गरेर आउनुपर्यो, झन्डै ज्यान पनि गएको थियो ।’
विदेश गएर आएपछि पढाइ पनि छुट्यो । नेपालमा केही काम गरौ भनेपनि योग्यता पुग्दैन । आफ्नो योग्यता अनुसारको काम गर्दा खान, लगाउन नपुग्ने त होइन तर जोगाउनै नसकिने उहाँको भनाई छ । उहाँ भन्नुहुन्छ, ‘अहिले मात्र बाँचेर पछि के गर्नु ?’
नेपाल फर्केर आएपछि फेरि जाउँ जस्तो नलागेको होइन । तर पहिला अपरिपक्क भएर विदेश जाँदा पाएको सास्तीलाई उहाँले विर्सनु भएको छैन । त्यसैले हिजोआज राउत पार्लरको टे«निङ लिनुहुन्छ । ‘भूकम्प पछि धेरै अवसरहरु खुलेका छन्, तर छानेर जाँदा राम्रो ।’ उहाँ भन्नुुहुन्छ, ‘महिलालाई सुरक्षा पनि राम्रो भएको देशमा जानुपर्छ, नत्र भने डराई डराई काम गर्नुपर्छ ।’
नेपालमा २०७२ सालमा भूकम्पपछिका चार महिना उमेर बढाएर विदेश जानेको संख्या बढेको माइती नेपालको परामर्श केन्द्रले जनाएको छ । जे गरेर पनि विदेश पुग्न पाए हुन्छ भन्दै राहदानी बनाउन आएको केन्द्रकी माया केसीले बताउनुभयो ।
‘हामीले जति सम्झाए पनि दलालले ब्रेन वास गरेका हुन्छन्, त्यसैले हामीलाई त केही कुरा पनि भन्दैनन्, सम्झाउँदा पनि हस् हस् भनेर टारिदिन्छन्, कतिजना त हामीलाई सब थाहा छ भन्दै भाग्छन् ।’ केसी भन्नुहुन्छ, ‘हामीले त सम्झाउने न हो, नजाउ भनेर रोक्न त मिल्दैन, तर पनि दलालसँग आएको थाहा भएमा हामी प्रहरीलाई खबर पनि गर्छाैं ।’
घरमा पैसाको कमी भएपछि कतिपय पढ्न नै छोडेर कमाउनेतर्फ लाग्छन् । नेपालमा भन्दा त विदेशमा नै धेरै कमाइ हुन्छ भन्दै उमेर बढाएर नागरिकता बनाउने र राहदानी बनाउने गर्छन् । झन् बेलाबेलामा आउने प्राकृतिक प्रकोपले यसरी विदेश जानेको संख्या अझै बढ्ने गरेको छ । प्रकोप पीडितहरु आफ्नो दैनिक आवश्यकता पूरा गर्नको लागि जे गरेर हुन्छ विदेश जाने मनस्थिति बनाउँछन् । यही कुराको फाइदा दलाललाई हुन्छ ।
अहिले संगीता विश्वकर्मा भने विदेश नजाने सोचमा हुनुहुन्छ । ‘हामी विदेश जान मरिमेट्ने गर्छौं तर त्यहा महिलालाई त्यति सजिलो छैन’ उहाँ भन्नुहुन्छ, ‘नजानी नबुझी जाँदा त झन् समस्या परे कहाँ गएर भन्ने पनि थाहा हुँदैन ।’ धेरै वर्षको विदेशमा बसेको अनुभव बोकेकी बिक भन्नुहुन्छ, ‘विदेशमा गएका कति जे जस्तो भएपनि सहेर बस्छन् । कति समपछि सकुशल फर्कन्छन्, तर कति भने बाकसमा फर्कन्छन् ।’ - उज्यालो अनलाइनबाट साभार।

0 comments
प्रतिक्रिया दिनुहोस्...