-->
सीपले खुल्यो लालबहादुरको भाग्य : विदेशको कमाईले ५० लाखको घर
Advertisement

साउन ३ – चार महिनासम्म पनि तलव नपाएपछि सँगै गएका दुई जना साथी नेपाल फर्किए । तर लालबहादुरले काम गरिरहनुभयो । अरु दुई महिना पनि उहाँले तलबबिना नै काम गर्नुभयो ।
चार महिना काम गर्दा पनि तलब नदिएपछि उहाँले श्रीमतीलाई फोन गर्नु भयो । अनि श्रीमती सविनाले एजेण्टलाई कम्पनीमा कुरा गर्न दवाव पनि दिनुभयो । त्यसपछि उहाँले तीन वटा भवनमा प्लम्बिङ र इलेक्ट्रिसियनको जिम्मेवारी पाउनुभयो । त्यसले लालबहादुरलाई तलव मात्रै दिलाएन भाग्य नै खुले जस्तै भयो ।
दिएको जिम्मेवारी पूरा गरेपछि उहाँले प्लम्बिङ र इलेक्ट्रिसियनको इजाजतपत्र पाउनुभयो । ‘मेरो काम देखेर खुसी भएपछि मालिकले काम गर्ने लाइसन्स दियो’ लालबहादुरले भन्नुभयो । ६ महिनासम्म तलब नपाएका लालबहादुरको महिनाको तलब तोकियो ७० हजार ।
सोचेको जत्तिकै तलब पाएपछि रामेछाप नगरपालिका–२ गोल्माटारका लालबहादुर थापामगर तीन वर्ष बसेर नेपाल फर्किनुभयो । अनि विदेशको कमाईले जिल्ला अस्पताल जाने बाटोमा घडेरी किनेर दुई तले घर बनाउनुभयो । अनि त्यही घरमा होटल सुरु गर्नुभएको छ । उहाँको प्रगतिमा श्रीमती सविनाको पनि उत्तिकै ठूलो साथ छ । श्रीमान विदेशमा हुँदा सविना होटल चलाउनुहुन्थ्यो । ‘उनले गरेको कमाईले घर खर्च चलेकाले मेरो कमाइ बचेको हो’ लालबहादुर भन्नुहुन्छ ।
केही गर्दा नभएपछि विदेश गएको थिएँ
लालबहादुरको सोच विदेश जाने थिएन । उहाँ गाउँ ठाउँमै धेरै कुरा गर्न सकिन्छ भन्ने सोच्नुहुन्थ्यो । उहाँले रामेछापको च्यास्कु बजारमा इलेक्ट्रोनिक्स पसल र होटल खोल्नुभयो । तर सोचे जस्तो भएन । सोचे जस्तो नभएपछि इलेक्ट्रोनिक्स पसल बन्द गरेर होटल मात्रै चलाउन थाल्नुभयो । तर त्यसले पनि पार लाएन ।
‘त्यही भएर नै मैले विदेश जाने सोच बनाएँ’ लालबहादुरले सम्झिनुभयो । त्यति बेला उहाँसँग विदेश जाँदा लाग्ने खर्च थिएन । त्यसैले उहाँले डेढ लाख ऋण लिनुभयो । ऋण काढेर विदेश हिँड्दै गर्दा लालबहादुरसंग धेरै कमाउने सपना थियो । त्यो संगै उहाँसंग सपना पुरा गर्न इलेक्ट्रिसियन र पलम्बिङको सिप पनि थियो । भन्नुहुन्छ ‘त्यही भएर नै हो मैले ६ महिना दुःख पाएर पनि राम्रो कमाउन सकेको ।’
यहीँ पनि सम्भावना छ
विदेशमा कमाएको पैसाले लालबहादुरले घडेरी किनेर घर बनाउनुभयो अनि होटल पनि सुरु गर्नुभयो । तर आफ्नो पुरानो पेसा छोड्नुभएको छैन । उहाँ अहिले पनि इलेक्ट्रिसियन र प्लम्बिङको काम गरिरहनुभएको छ । ‘ठेक्का लिएर काम गर्दा सन्तुष्ट हुने गरि कमाइरहेको छु’ लालबहादुर भन्नुहुन्छ ।
पुरानै पेसामा विदेशमा काम गर्दाको अनुभव थपेर राम्रो कमाई गरिरहेका लालबहादुरले भुइँचालोपछि गाउँमै धेरै कामको संभावना देख्नुभएको छ । भुइँचालोपछि विभिन्न संघसंस्थाले मेसन, प्लम्विङ्ग, स्टिलफिक्चर्स सम्बन्धी तालिम निःशुल्क दिएको देखेपछि उहाँले यिनै काममा युवाको भविष्य देख्नुभएको हो । भन्नुहुन्छ ‘पेट पाल्नकै लागि भनेर हो हामी विदेशिने तर त्यहाँ गएर लेभरको काम गर्नुभन्दा नेपालमै यस्ता सीप सिकेर काम गर्ने हो भने विदेश जानै नपर्ने रहेछ ।’ उज्यालो अनलाइनबाट।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.