-->
चिनियाँ अधिकारी भन्छन्–नेपाल हुँदै भारतसम्म रेल जोड्न सम्भव छ
Advertisement

काठमाडौं, २१ साउन । चिनियाँ अधिकारीहरुले त्यहाँको रेलवे सञ्जाललाई हिमालय हुँदै नेपालबाट भारतसम्म जोड्न आर्थिक र प्राविधिकरुपमा सम्भव रहेको बताएका छन् ।
नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनबाट नेपाल जोड्ने रेलवे जस्ता ठूला परियोजना पैसाको अभावमा अघि बढाउन नसकिने बताइरहेका बेला चिनियाँ अधिकारीहरुले तिब्बतसम्म आएको आफ्नो रेलसेवालाई नेपाल हुँदै भारतसम्म पुर्याउन सकिने बताएका हुन् ।
चिनियाँ अधिकारीहरुले एसियाको छानोकारुपमा परिचित तिब्बतलाई आर्थिक र सांस्कृतिक केन्द्रकारुपमा विकास गर्नका लागि पनि बेइजिङले आफ्नो रेलसेवालाई दक्षिण एसियासँग जोड्न चाहेको बताएका हुन् ।
‘हिमालयलाई पार गर्दै रेलवेको सञ्जाल निर्माण गर्न आर्थिक र प्राविधिक दुबै हिसाबमा सम्भव छ ’, बेइजिङ विश्वविद्यालयको विज्ञान तथा प्रविधि विभागका उपप्रमुख जोङ ग्याङले चाइना तिब्बेतोलोजी रिसर्च सेन्टरमा भनेका छन् ।
चीनबाट प्रस्तावित ट्रान्स–हिमालय रेलसेवाको सुरुवात तिब्बको सिगात्सेबाट शुरु हुन्छ । र, यो रेलसेवा नेपालसँग सीमाना जोडिएको केरुङ नाकासम्म आइपुग्छ । केरुङबाट रसुवागढी नाका हुँदै चीनले काठमाडौंसम्म यो रेलसेवा ल्याउने योजना बनाएको छ ।
तर यो सेवा तीब्र गतिको भने नहुने चाइनिज रिसर्च सेन्टरको एक कार्यक्रममा बताइएको समाचार चाइना डेलीले पनि छापेको छ ।
चीनले सन् २००६ मा आफ्नो देशको मूख्य भूभागबाट एघार सय किलोमिटर लामो सञ्जाल बनाएर उच्च हिमाली क्षेत्र तिब्बतको राजधानी ल्हासासम्म रेलसेवा बिस्तार गरेको थियो । त्यहाँबाट २५० किलोमिटर थप विस्तार गरेर चीनले रेलसेवालाई सिगात्सेसम्म ल्याइसकेको छ ।
चीनले अब नेपालको राजधानी काठमाडौं जोड्ने गरी केरुङ नाकाबाट एउटा र तिब्बतको प्रान्त याडोङ हुँदै सिक्किमबाट भारत छिराउने गरी अर्को रेलसञ्जाल विस्तारको योजना बनाइसकेको छ ।
त्यसैगरी चीनले सिगात्सेबाटै नेपालको सुदुरपश्चिमी नाकासँग जोडिएको बुराङबाट पनि अर्को रेलसेवालाई भारत हुँदै दक्षिण एसिया जोड्ने गरी निर्माणको योजना बनाएको चिनियाँ अधिकारीहरुले जनाएका छन् ।
तिब्बत क्षेत्रीय सरकारले सार्वजनिक गरेको एक म्यापलाई आधारित मान्दै प्रकाशित गरिएको समाचार अनुसार चीनले सिगात्सेलाई केन्द्र बनाएर भारतको सिक्किम जोड्ने गरी यादोङबाट एउटा, नेपालको पश्चिमी क्षेत्र हुँदा बुराङबाट भारतको उत्तराखण्ड जोड्ने गरी अर्को र सिगात्सेबाटै केरुङ नाका हुँदै नेपाल जोड्ने रेलसञ्जालको योजना बनाएको उल्लेख गरेका छन् ।
‘समुद्री सतहबाट २८ सय मिटर उचाईमा रहेको केरुङ हुँदै नेपालतर्फ १८ सय मिटरको उचाई हुँदै जाने रेलसञ्जाल निर्माण गर्न भौगोलिक र प्राविधिक हिसाबमा सम्भव छ’, जोङले भनेका छन् ।
अहिले बेइजिङबाट जोडिएको रेलसेवा चीनले ३७ सय मिटर उचाई रहेको ल्हासामा गुडिरेहको छ भने ३८ सय उचाईको सिगात्सेसम्म पनि सजिलै आइरहेको छ ।
सिगात्सेसम्म आइसकेको रेलसेवालाई केरुङ हुँदै रसुवागढी नाकाबाट नेपालसम्म जोड्ने परियोजना अघि बढाउनका लागि चीन भ्रमणका गएका बेला नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्झौता गरेका थिए । ओलीको भ्रमणका बेलामा विश्वव्यापारका लागि भारतसँग मात्रै निर्भर नेपालले चीनसँग पनि पारवहन सम्झौता गरेर भारतको एकाधिकार तोडेको थियो ।
तर ओली सरकार ढलेपछि प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आएकाले यो परियोजना अघि बढ्नेमा चिनियाँ पक्ष सशंकित छ । हिमालयको मुलुकमा प्रचण्ड प्रधानमन्त्री बन्नुलाई चिनियाँ पक्षले भारतको प्रभावको पुनरागमनका रुपमा लिँदै यो परियोजा नेपालको एक नम्बर प्राथमिकतामा पर्ने कुरामा बेइजिङमा चिन्ता छाएको छ ।
Image


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.