Advertisement
|
तपाईं कुनै दीर्घरोगले ग्रस्त हुनुहुन्छ भने मिर्गौलामा समस्या भएको थाहै नहुन सक्छ । दीर्घरोगीलाई मिर्गौलामा निम्तिएको समस्या बाहिर लक्षण नदेखिने र भित्रभित्रै कमजोर बनाएर ड्यामेजको अवस्थामा पुर्याउने खतरा बढी हुन्छ । त्यसैले वेला–वेलामा मिर्गौला जाँच गराइराख्नु बुद्धिमानी हुन्छ ।
तपाईंमा कुनै दीर्घरोग छैन भने मिर्गौला बिग्रिँदै जाँदा केही लक्षण देखिने गर्छन् । तर, मिर्गौलामा सीधा पीडा नहुने भएकाले अधिकांशले सामान्य लक्षणमा मतलब गरिरहेको पाइँदैन । मिर्गौलामा समस्या निम्तिन थालेको छ भने उकालो–ओरालो गर्दा बिरामीलाई थकाइको महसुस हुन्छ । बाहिरबाट हेर्दा बिरामी सामान्य देखिने, तर भित्रभित्र खान मन नलाग्ने हुन्छ । वाकवाकी लाग्ने, जति पानी पिउँदा पनि मुख सुक्ने, धपेडी भएजस्तो हुने लक्षण देखिन्छन् । तर, बिरामीअनुसार लक्षण फरक–फरक देखिन सक्छ ।
मिर्गौलाको अवस्था जटिल बन्दै गएको छ भने बिरामीको छाला फुस्रो हुँदै जान्छ । बिस्तारै छालाको कत्ला निस्किने लक्षण देखिन्छ ।
मिर्गौलाले कामै गर्न नसक्ने अवस्था भइसकेको छ भने शरीरमा पानी जम्मा भएर फुल्न थाल्छ । फोक्सोमा पानी जम्मा हुन सक्छ । कतिपय अवस्थामा मिर्गौलालाई ब्युँताउन सकिन्छ भने कतिपय अवस्थामा सकिँदैन ।
पिसाब परीक्षण गरेर मिर्गौला स्वस्थ रहे–नरहेको पत्ता लगाउन सकिन्छ । शरीरको निकै महत्त्वपूर्ण अंग भएकाले समय–समयमा मिर्गौला परीक्षण गराइराख्नुपर्छ । मिर्गौला बिग्रिने अवस्था सुरुवात भएको छ भने पनि वेलैमा पत्ता लगाएर उपचार गरिए समस्या सुल्झाउन सकिन्छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...